कालिकोटका चार पाण्डेविरुद्ध एकैदिन भ्रष्टाचार मुद्दा दर्ता

कालिकोटका चार पाण्डेविरुद्ध एकैदिन भ्रष्टाचार मुद्दा दर्ता

कर्णाली प्रदेशको कालिकोट जिल्लाका सरकारी कर्मचारीसहित आधा दर्जन व्यक्ति भ्रस्टाचारमा मुद्दामा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एकैदिन उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका तत्कालिन प्रा.स. रत्न प्रसाद पाण्डेले कृषि तालिम कार्यक्रमको ३ लाख ८८ हाजर ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा कृषि विकास कार्यालयले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानविन शुरु गरेको थियो । अनुसन्धानका क्रममा पाण्डेले झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिएको पाइएपछि मुद्दा चलाइएको हो । अख्तियारले दायर गरिएको रिटमा पाण्डेसँग ३ लाख ८८ हाजर ७५० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, कालिकोटको मान्म–८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डेसहित अरु तीन जना पनि भ्रष्टाचारमा मुछिएका छन् । भवन निर्माणमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै अख्तियारले उनीहरु विरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र समितिका सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे) रहेका छन् ।

आर्थिक बर्ष २०७०/७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । त्यस क्रममा उनीहरुले भवन निर्माणमा झुट्टा बिल बनाई २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारले आज दायर गरिएको मुद्दामा त्यति नै रकम बिगो माग गरिएको छ ।

आजै जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बमविरुद्ध पनि भ्रष्टाचाचर मुद्दा लागेको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तिारले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो मागिएको छ ।

टिप्पणीहरू