सडक निर्माणमा चरम लापरवाही, ठेकेदारलाई कारवाहीको चेतावनी

सडक निर्माणमा चरम लापरवाही, ठेकेदारलाई कारवाहीको चेतावनी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माणमा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ ।

नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक निर्माणको जिम्मा पाएको रौताहारसुसमर आदित्य जेभी, दिक्तेलस्थित अस्पताल चोक–लफ्याङ सडक बनाउने ठेक्का लिएको ढुकुचुर बगाले थापा रवि एण्ड टि जेभीलाई कारबाहीको चेतावनी दिएको छ ।

यसैरी, दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतीको काम अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिललाई पनि कारबाहीको चेतावनी दिइएको छ ।

मेयर तीर्थराज भट्टराईले तीन वटा निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गरी यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । अन्यथा सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत निकायसमक्ष कानूनबमोजिमको कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिइएको छ ।

यसबारे नगरपालिकाले पूर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई आवश्यक बोधार्थ पनि दिएको छ ।

टिप्पणीहरू