बैंककमा एनआरएनको क्षेत्रीय सम्मेलन तयारी

बैंककमा एनआरएनको क्षेत्रीय सम्मेलन तयारी

गैरआवासीय नेपाली संघले आगामी भदौ १० देखि १२ गतेम्म थाइल्याण्डको राजधानी बैंककमा नवौं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेको छ । सम्मेलनलाई भव्य बनाउन धेरै काम धमाधम भइरहेको बताइएको छ ।

‘मिलाप टुगेदर वी स्ट्याण्ड’ सम्मेलनको संयोजकमा पारसमणि पोखरेललाई बनाइएको छ । एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतको निम्तोमा एनआरएनए थाइल्यान्डका एनसीसी पदाधिकारी तथा थाइ नेपाली संघका सदस्यसहित ११ जनाको एउटा स्थानीय सामाजिक समिति गठन गरिएको छ ।

सम्मेलनमा चीन, म्यान्मार, थाइल्यान्ड, मलेसियासहित ३० देशबाट झण्डै तीन सय प्रतिनिधि बैंकक आउने निश्चित भएको छ । नेपालबाट माननीय शेरबहादुर कुँवर, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, एमाले सांसद डा. सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका अध्यक्ष तथा पदाधिकारी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्ट उपस्थित हुने जानकारी दिइएको छ ।

त्यसैगरी एनआरएनएका शीर्ष अभिन्ताहरू, थाइल्याण्डका लागि नेपाली राजदूत, व्यवसायी, चर्चित सञ्चारकर्मी, नेपाल सरकारका उच्च अधिकारी तथा कैयौँ सामाजिक क्षेत्रका प्रतिनिधिको उपस्थिति हुने आयोजकको दाबी छ ।

नेपालमा पर्यटन प्रवद्र्धन र आर्थिक विकासको निम्ति मिलाप सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुले विश्वास लिएका छन् । थाइल्यान्ड सम्मेलनको नारा ‘मिलाप टुगेदर वी स्ट्याण्ड’ रहेको छ ।

नेपालमा लगानी र गैरआवासीय नेपालीको हक–अधिकारका विषयमा सम्मेलन केन्द्रित हुने जानकारी दिइएको छ । यस्तै सम्मेलनमा नेपाली युवा र महिलाको समावेशीकरण र नेतृत्वको समस्यालाई पहिचान गरेर समाधानबारे छलफल हुनेछ ।

यसैबीच एनआरएनए थाइल्याण्डको प्रतिनिधिमण्डलले शुक्रबार थाइल्याण्डका लागि नेपाली राजदूतसँग भेटवार्ता गरेको छ । नेपालबाट श्रममन्त्री जाने निधो भएकाले थाइल्याण्ड सरकारबाट पनि सोही दर्जाको पदाधिकारीलाई निम्तो गर्ने तयारी गरिएको हो ।

टिप्पणीहरू