उपेन्द्र यादव महन्थ ठाकुरप्रति नरम

उपेन्द्र यादव महन्थ ठाकुरप्रति नरम

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकताका लागि गर्नुभएको प्रयासको चुरो कुरो खुल्दै छ । उहाँले विगतका तीता कुरा छाडेर पार्टी एकीकरणको निम्ति ठाकुर नेतृत्वको लोसपासँग हात अघि बढाउनुभएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको,सत्ताधारी पाँच दलमा रहेका ठूला दलहरुबीच छुट्टै समीकरणको सम्भावना बढेको, विपक्षी एमालेले समेत सत्ता बाहिरका साना दलसँग चुनावी गठबन्धनको तयारी गरेपछि मधेशवादी दलको रुपमा परिचित यादव नेतृत्वको जसपा र ठाकुर नेतृत्वको लोसपाले कम्तीमा तराईमा रहेको राजनीतिक प्रभुत्व जोगाउन एकीकरण वा कार्यगत एकताको पहल गरेका हुन् ।

पहिले छुट्टाछुट्टै दलको नेतृत्व गर्दै आएका ती समूहले अघिल्लो चुनावपछि पार्टी एकीकरण गरेर जनता समाजवादी पार्टी गठन गरेका थिए । तर,तत्कालीन ओली सरकारको पालामा महन्थ समूह सत्तापक्षसँग निकट भएपछि यादव समूह चिढियो । लगतै महन्थ र महतो निकट सांसद तथा केन्द्रीय सदस्यहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि उनीहरुको सम्बन्ध पानी बाराबारमा पुगेको थियो ।

गत वर्ष काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि यादवको जसपा सत्ताधारी गठबन्धनमा सामेल छ भने लोसपा विपक्षमा छ । अहिले नयाँ परिस्थिति र राजनीतिक समीकरणमा आएको उतारचढावपछि उनीहरुबीच पार्टी एकताको पहल अघि बढेको बताइन्छ । सोही सन्दर्भमा उपेन्द्र यादवले सबैभन्दा धेरै पहल गर्नुभएको उनी निकट स्रोतको भनाइ छ । ‘पार्टी एकताका लागि पटक पटक प्रस्ताव गर्दै अहिले पनि लोसपासँग एकता हुनेमा यादवले विश्वास गर्नुभएको छ,’ जसपा निकट स्रोतको दाबी छ ।

टिप्पणीहरू