माओवादी अखिलको आन्दोलनमा उत्रने चेतावनी

माओवादी अखिलको आन्दोलनमा उत्रने चेतावनी

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आफ्नो माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको समितिको प्रतिवेदन सार्वजनिक नभए र शैक्षिक योग्यताको प्रमाणपत्र लिन मुलुकका विभिन्न क्याम्पसबाट त्रिभुवन विश्वविद्यालय धाउनुपर्ने अवस्था रहे आन्दोलनमा उत्रने चेतावनी दिइएको हो ।

एक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक नगरेपछि दोषीलाई उन्मुक्ति दिन षड्यन्त्र रचेको हुनसक्ने यूनियनको ठहर छ ।

‘सत्यतथ्य बाहिर ल्याउन गठिन समिति स्वयम् कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन ? छानबिन समितिमाथि नै छानबिन गर्नुपर्ने डरलाग्दो अवस्था देखिएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, समितिको प्रतिवेदन सार्वजनिक नभएको र अन्य संकायमा छानबिन समिति नै नबनेको गुनासोसमेत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट वितरण हुँदै आएको माइग्रेसन, ट्रान्स्क्रिप्ट सर्टिफिकेटसम्बन्धित क्याम्पसबाट वितरण गर्न जनाइएको प्रतिबद्धता कार्यान्वयनमा भएको ढिलासुस्ती र आलटालप्रति ध्यानाकर्षण भएको उसले बताएको छ ।

टिप्पणीहरू