क्याबिनेटको एउटा बैठकले निर्णय गर्ने, अर्कोले उल्टाउने

क्याबिनेटको एउटा बैठकले निर्णय गर्ने, अर्कोले उल्टाउने

सरकारले सबै तहका निजामती कर्मचारीको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम ग्रेड स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसअघि क्याबिनेट बैठकले बजेट भाषणमा उल्लेख गरिएको भन्दा फरक प्रतिशतले नयाँ तलबमान निर्धारण गरेपछि नायब सुब्बा र सोभन्दा मुनिका कर्मचारीले आन्दोलन गरेका थिए । गत साता अर्थमन्त्रीलगायत अधिकारीहरुलाई उक्त निर्णय फिर्ता लिन सुब्बाहरुले बाध्य पारेका थिए । सोहीबमोजिम गत बिहीबारको क्याबिनेटले १५ प्रतिशत तलब बढाउने सहमति कार्यान्वयन गर्ने निर्णय गरेको बताइन्छ ।

यसैबीच उक्त बैठकले कानुन, ऊर्जा, कृषि, भौतिक पूर्वाधार तथा युवा खेलकुद मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जसअनुसार कानुनमा ५८, ऊर्जामा ५१, कृषिमा २०, भौतिकमा तीन सय ५५ र युवा तथा खेलकुदमा १५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउन पनि क्याबिनेटले स्वीकृति दिएको छ ।

टिप्पणीहरू