चौरहजारी विमानस्थल सूचारु गर्न माओवादी नेताको माग

चौरहजारी विमानस्थल सूचारु गर्न माओवादी नेताको माग

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सूचारु गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विमानस्थल सञ्चालनको जिम्मा लिएको नेपाल वायु सेवा निगमलाई पटक-पटक आग्रह गर्दा पनि अटेर गरेको आरोपसमेत लगाए ।

‘जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई पायक पर्नेगरी केन्द्र भागमा स्थापना भएको चौरहजारी विमानस्थलमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा दिँदै आएको थियो । तर, केही वर्षयता सो सेवा बन्द अवस्थामा छ,‘ बस्नेतले भने, ‘ हामीले यो विमानस्थल सूचारु गर्न निगमलाई अनुरोध गर्दै आएका छौँ । तर पनि सेवा संचालन हुन सकिराखेको छैन । तत्काल सेवा संचालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’

त्यसैगरी उनले मध्यपहाडी सडकअन्तर्गतको भेरी नदीमा पर्ने पुल निर्माणको काम शुरु भएको दशक बितिसक्दा पनि निर्माण कार्यले गति लिन नसेकोको भन्दै असन्तुष्टी जनाए । पुल निर्माणको काम २० प्रतिशतमात्रै पूरा भएको बताउँदै सांसद बस्नेतले त्यसलाई ढिलाई हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताएका छन् । पुल निर्माण कार्य ढिलाई हुनुको कारण पत्ता लगाउन उनले सरकारलाई आग्रह पनि गरे ।

टिप्पणीहरू