जगातीमा यसरी ग्याङ नै जुट्यो

जगातीमा यसरी ग्याङ नै जुट्यो

सवारी चालक अनुमति कार्यालय जगाती (हाल : राधेराधे, भक्तपुर) अहिले घुस्याहा कर्मचारीबाट भरिएको छ । हाल त्यहाँका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराई छन् । सेवाग्राहीको अत्यधिक भीड हुने यस कार्यालयमा दैनिक दुई पांग्रे ३ सय ५० र दुईभन्दा बढी पांग्रेका लागि डेढ सय गरी कूल ५ सय ट्रायल परीक्षा हुने गरेको छ । नेत्रका सहयोगी कर्मचारीको रूपमा अधिकृतहरू कृष्ण निरौला, युवराज फुयाँल, गोविन्दराज शिवाकोटी र पाँच तहका गणेश केसी छन् । यसअघि एकान्तकुनामा पनि यिनै थिए । एकान्तकुनामा कर्मचारीको समूहले धन्दा नै चलाएर रकम असुलेको र भ्रष्ट आचरण देखाएको उजुरी मुख्यमन्त्री राजेन्द्र पाण्डेसम्म पुगेपछि गत माघमा त्यहाँ कार्यरत ३२ जनालाई छिन्नभिन्न पारिएको थियो । रसुवा, नुवाकोट पुर्याईएका कृष्ण, गणेश, युवराज, गोविन्द केही महिनामै जगातीमा भेला भए । उनीहरू बागमतीका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको सचिवालयमा छैटौं तहका अधिकृत नारायण गौतम र सातौं तहका राजन पोखरेललाई आर्थिक लाभ पुर्याई जगाती आउन सफल भएको बताइएको छ ।

सवारी चालक अनुमतिपत्र लिनुअघि कार्यालयकै तर्फबाट तोकिएको चिकित्सकसँग आँखा, हातगोडा आदि परीक्षण गराई स्वस्थताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । यसका लागि जगातीले डाक्टर सुशीलकुमार झालाई तोकेको थियो । सुशीलले २०७३ सालदेखि नै यो काम गर्दै आएका हुन् । उनले प्रतिव्यक्ति रु. ४० लिएर सामान्य परीक्षण गरी सिफारिस दिन्थे । नेत्रको समूहले यही शुल्कमाथि आँखा लगायो र नयाँ डाक्टर दीपक सिंहलाई नियुक्त गर्यो  । यसोगर्दा उनीहरूले परीक्षण शुल्क रु.४० बाट बढाएर रु. ५५ बनाए । यातायात कार्यालय श्रोतका अनुसार स्वास्थ्य परीक्षणवापत प्रतिव्यक्ति लिइने रु.५५ बाट नयाँ डाक्टरलाई प्रतिव्यक्ति रु. ३० र नेत्रको टोलीलाई रु. २५ हुने शर्तनामा छ । यसबाट नेत्रको टोलीले कम्तीमा पनि दैनिक रु. १० हजार कमाउने गरेको छ । उनीहरूको यो कार्यविरुद्ध अख्तियार र संसदीय समितिमा समेत उजुरी परेको छ । प्रतिस्पर्धा गराएर कम मूल्यमा राम्रो स्वास्थ्य परीक्षण गर्ने चिकित्सक राख्नुपर्ने प्रावधान कार्यान्वयन गरेको देखाउन नेत्रको समूहले बजारमा कम देखिने एक दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको थियो । कार्यालयको सूचनापाटीमा एकैछिन सूचना टाँस गरी निकालेको पनि पाइयो ।

यसपछि यो समूहले कार्यालय सारेर अतिरिक्त कमाईको नयाँ क्षेत्र पहिचान गर्यो । हुन त कार्यालय सार्ने बोलपत्र नेत्र जगाती पुग्नु पहिले नै सार्वजनिक भएको थियो । त्यतिबेला ४ वटा घरको प्रस्ताव आएकोमा सबै अनुपयुक्त भएको भनी अस्वीकार गरिएको थियो । तर नेत्र आउनासाथ पुरानै बोलपत्रलाई अघि बढाई जगातीको भन्दा कम क्षेत्रफल भएको, कार्यालय प्रयोजनका लागि झन् साँघुरो र पार्किंग क्षेत्र पनि निकै कम भएको राधेराधेको एक घरमा सर्ने काम भयो । यहाँ पनि उनले कमसल र कार्यालयका लागि उत्तम नमानिएको घरसँग सम्झौता गरी मासिक भाडावापतको कागज दुईथरी गरेको बुझिएको छ । कम दरको कागजबाट घरबेटीलाई भाडा तिर्ने र बढी दरको कागज विभागमा पेश गरी ४५ हजारजति जगेडा रकम निकाल्ने । त्यहीं कार्यरत एक कर्मचारी भन्छन् दुईथरी कागज गरिएको चाहिँ पक्का हो, तर कागज हेर्न पाइएको छ्रैन, ४५ हजारजति हाकिमसा’बलाई मासिक आम्दानी हुनेगरी दुईथरी कागज गरिएको सुनिएको हो । डाक्टरी शुल्क र घरभाडा पनि अतिरिक्त लाभ लिने यो समूहले सवारीचालक अनुमतिपत्र लिने प्रक्रियामा कतिसम्म गड्बडी गर्ला अन्दाज मात्र गर्न सकिन्छ ।

टिप्पणीहरू