द्वन्द्वताका विस्थापित पाँच शिक्षकको पुनर्बहाली

द्वन्द्वताका विस्थापित पाँच शिक्षकको पुनर्बहाली

सशस्त्र द्वन्द्वताका विस्थापित भई जागिर गुमाएका रुकुमपश्चिमका पाँच जना शिक्षक पुनर्बहाली भएका छन् । सोमबार शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमले पुनर्बहाली गरेर नियुक्ति पत्र दिएको हो ।

इकाइ प्रमुख ताराप्रकाश पुनका अनुसार ओमप्रकाश बिसी, रामबहादुर बुढामगर, जीतबहादुर शाह, मधुसूदन अधिकारी र नगरबहादुर खड्कालाई पुनर्बहाली गरिएको हो । प्राथमिक तहको दरबन्दीमा पुनर्बहाली भएका शिक्षकमध्ये ओमप्रकाशलाई त्रिवेणी, रामबहादुरलाई बाँफीकोट, जितबहादुर शाहलाई सानीभेरी गाउँपालिका, मधुसूदन अधिकारी र नरबहादुर खड्कालाई आठबिसकोट नगरपालिकाअन्तर्गत पदस्थापनका लागि पत्र दिएर पठाइएको छ ।

मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले २०७३ मंसिरमा दिएको प्रतिवेदनअनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।

टिप्पणीहरू