शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरुको धर्ना
नेपाल विद्यालय कर्मचारी परिषद्ले भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना शुरु गरेको छ । आफ्ना माग तत्काल सम्बोधन गर्नुपर्ने बताउदैं परिषद्ले केही बेरअघिदेखि शान्तिपूर्ण धर्ना शुरु गरेको हो ।
परिषद्का अध्यक्ष गङ्गा राय तिवारीको नेतृत्वमा भएको कार्यक्रममा संयोजक बबनकुमार मिश्रसहित एक सय बढीको सहभागिता रहेको छ । सहभागी सबैले छातीमा प्लेकार्ड झुण्ड्याई पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्न माग गरेका छन् ।
आन्दोलनकारी शिक्षकहरुले विद्यालय कर्मचारी सहायक (लेखापाल) का लागि ३६ हजार ७३० र विद्यालय सहयोगीका लागि २६ हजार २१० रुपैंया तलबको व्यवस्था गर्न माग गरेका छन् ।
६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरुका लागि सरकारले तत्काल कार्यविधिमार्फत सम्पूर्ण सेवा सुविधाको प्रबन्ध मिलाउनुपर्ने परिषद्ले जनाएको छ । संघीय शिक्षा ऐन, शिक्षा ऐन २०२८ को संशोधन गर्न पनि माग गरको छ ।
जसअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याइ स्वतः स्थायी प्रक्रियामा लग्नुपर्ने, संघीय शिक्षा ऐन जारी हुँदासम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध मिलाउनुपर्ने लगायतका विषयहरु उल्लेख छ ।
६० वर्ष पुगेर अवकाश भइसकेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानूनबमोजिम शिक्षकसरहको सेवासुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्न, विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्ततिवृत्ति आदिको प्रबन्ध मिलाउन, विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटकपटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा लैजान जोडदार माग गरिएको छ ।
टिप्पणीहरू