‘गोरी विधवा’ आतंक मच्चाएर कता गइन् ?

‘गोरी विधवा’ आतंक मच्चाएर कता गइन् ?

सन् २००५ जुलाई ७, बिहीबार । बिहानको समय । लण्डनको भूमिगत रेल स्टेशनमा खचाखच मान्छे थिए । ठीक ८ बजेर ४९ मीनेट जाँदा अचानक ठूलो विस्फोट भयो । र, ५० सेकेण्डको बीच अर्को २ वटा बम पड्कियो । ३९ जनाको घटनास्थलमै ज्यान गयो भने बाँकी १३ जनाको अस्पतालमा मृत्यु भयो । ७ सयभन्दा बढी घाइते भए । मारिनेहरू २० देखि ६० वर्ष उमेरका थिए । २ जना बेलायती र अरू विभिन्न मुलुकका । उक्त विष्फोटनमा ४ जना संलग्न थिए ।

सो दिन झिसमिसेमै ३० वर्षीय मोहम्मद सिद्दिकी खान, २२ वर्षीय शेहजाद तनबिर र १८ वर्षीय हसिब हुसैनले वेस्ट योर्कशायरको लिड्सबाट एउटा गाडी भाडामा लिए र लुटोनतर्फ हिँडे । त्यहाँ उनीहरूको भेट १९ वर्षीय जर्माइन लिन्ड्सेसँग भयो । त्यसपछि चारै जना रेल चढेर राजधानी लण्डनतर्फ अगाडि बढे । ८ बजेर २३ मीनेटमा किङ्स क्रसमा पुगेर तीनवटा बम भूमिगत रेलवेमा बिछ्याए भने अर्को एउटा डबल डेकर बसमा राखे । र, हुसेन सोही बसमा बसेर समयको प्रतीक्षा गर्न थाले । ठीक ८ः४९ मा उनले रिमोट कन्ट्रोलको स्विच थिचे । बम विष्फोटको समय रेल किङ्स क्रसबाट प्रस्थान गर्नै लागेको थियो ।

विष्फोटमा चारै जना आक्रमणकारी मारिए, उनीहरू आत्मघाती थिए । मोहम्मद सिद्दिकी खान पश्चिम इङ्ल्याण्डको लिड्सका बासिन्दा । भर्खरकी तरुनी पत्नी र एउटा बच्चा थियो । नजिकैको प्राइमरी स्कुलमा मेन्टर रहेका उनले रेलको २१६ नम्बर डिब्बामा बम राखेका थिए । विष्फोटनमा उनीसहित यात्रुरत ७ जना यात्रु मारिए । सेहजाद तनवीर पनि लिड्सकै बासिन्दा थिए । बुबा र आमाको साथमा बस्थे । उनी डिब्बा नम्बर २०४ मा थिए । विष्फोटनमा उनीलगायत ८ जना मारिए ।

१८ वर्षीय हसिब हुसैन लिड्समै दाजु र भाउजूसित बस्थे । २ तले बसमा सवार उनी त मारिए नै साथमा १४ जना यात्रु पनि मारिए । चौथो र अन्तिम आक्रमणकारी १९ वर्षीय जर्माइन लिन्डसे दक्षिणपूर्वी शहर अलेस्बुरी निवासी । घरमा पत्नी र एउटा सानो छोरा । पत्नी पुनः गर्भवती थिइन् । उनी रेलको डिब्बा नम्बर ३११ मा सवार थिए । विष्फोटनमा उनीसहित २७ जनाको ज्यान गयो । यी तीनै जना पाकिस्तानी बाबुआमाबाट जन्मेका ब्रिटिश नागरिक थिए भने लिन्डसेको जन्मचाहिँ मध्यअमेरिकी मुलुक जमैकामा भएको थियो । आक्रमणको पछाडि कसैले इरानको हात रहेको अनुमान गरे भने कसैले अलकायदा । र, तीन सातापछि अल कायदाले नै जिम्मेवारी लियो ।

जर्माइन लिन्डसे ५ वर्षको हुँदै बेलायत पुगेका थिए । उनकी आमाले एकजना मुसलमानसित बिहे गरेपछि र उनीहरूले पनि धर्म परिवर्तन गरेपछि जर्माइन अब्दुल्लाह शाहिद जमाल बने । पहिला उनीहरू डाल्टोनमा बस्थे, पछि अलेस्बुरी गए । उनी घरघरमा कार्पेट फिटिङ गर्न जान्थे । आफूभन्दा धेरै जेठी आयरल्यान्डकी एउटी महिलासँग बिहे गरे तर आठौं दिनमै सम्बन्धविच्छेद भयो । कारण थिइन् सामन्था ल्युथवेट । सामन्थाका आमाबाबु दुवैजना आइरिस थिए । पिता बेलायती सेनामा । अलेस्बुरीमा बसाइँ सरेपछि सामन्थाले त्यतै पढ्न लागिन् । कलेजमा राजनीति र धर्मशास्त्र लिइन् ।

सन् १९९४ मा मातापिता अलग्गिए । उक्त घटनाले जीवनमा ठूलो असर पा¥यो । उनी जहाँ बस्थिन् वरिपरि मुसलमानहरूको बस्ती थियो । उनीहरूकै प्रभावमा परी १७ वर्षीया उनले धर्म परिवर्तन गरिन् र आफ्नो नाउँ सिरफिराह राखिन् । यसैबीच लण्डनको हाइड पार्कमा आयोजित ¥याली ‘युद्ध बन्द गर’ मा जर्माइनसित उनको भेट भयो । लगत्तै सन् २००२ को अक्टोबर ३० मा दुबैले बिहे गरे । बिहेपछि सामन्था आसमान्त्रा बनिन् भने जर्माइन् जमाल । बिहेको समय सामन्था १९ र जर्माइन १७ का थिए ।

लण्डनको भूमिगत रेलमा जर्माइनहरूले आत्मघाती बम विष्फोट गर्दाको समय सामन्था ८ महिनाकी गर्भवती थिइन् । पेटमा छोरी हुर्किरहेको थियो । पहिलो सन्तान छोरा थियो जो त्यो समय मात्र १४ महिनाको थियो । उनको भनाइ थियो, बम विष्फोटनको घटना घट्नुअघि पति ६ दिनदेखि बेपत्ता थिए । त्यसैले घटनाको योजनाबारे पूर्णरूपमा बेखवर थिइन् । भूमिगत रेलमा बम पड्काएलगत्तै सामन्थाको घरमा पनि बम आक्रमण भयो । प्रहरीले उनलाई थाना लगेर राख्यो । समाचारमा उनलाई पनि मुछियो । बम आक्रमणको योजनाकार मानिएका मोहम्मद सिद्दिकी खानसित नाम जोडियो । सामन्थाकी एक दिदी जो १५ वर्षकै उमेरमा मुसलमान बनेकी थिइन् उनलाई पनि एकजना आक्रमणकारीको रूपमा प्रस्तुत गरियो ।

प्रहरीले उनलाई सुरक्षार्थ कस्टडीमा राखेको थियो, पक्राउ गरिएको थिएन । त्यसैले केही दिनपछि रिहा गरियो । केही दिन लण्डनको सडकमा देखिएकी उनी एकाएक लापत्ता भइन् । सन् २००७ मा अफ्रिकी मुलुक केन्याको राजधानी नैरोबी पुगेको हल्ला फैलियो । त्यहाँ उनले हबिब सालेह घानीसँग बिहे गरिन् । र, उनैको तर्फबाट सन् २००९ मा सामन्थाले एउटी छोरी जन्माइन् तर लगत्तै अस्पतालबाटै लापत्ता भइन् र ताञ्जानियामा लुकेर बसिन् । त्यहीं पक्राउ परिन् । जेलमा सोमालियाको आतंकवादी संगठन ‘अल शबाब’ को सैनिक कमाण्डर हसन मालिम अब्राहम पनि सजायँ काटिरहेका थिए । थोरै समयको फरकमा दुबै जेलबाट निस्के र बिहे गरे । बिहेपछि सामन्था पनि ‘अल शबाब’ मा सक्रियतापूर्वक लागिन् ।

सन् २०१२ मा केन्याको आतंकवादविरोधी प्रहरी इकाइले फेय नामकी एउटी गोरी युवतीको नाउँमा वारेन्ट जारी ग¥यो । उनले दक्षिण अफ्रिकाको नक्कली पासपोर्ट बोकेकी रहिछन् । प्रहरी इकाइले स्कटल्याण्ड यार्डसित सम्पर्क गर्दा ती महिलाले अलग्ग अलग्ग ३ वटा नाउँ प्रयोग गर्ने गरेको र सक्कली नाउँ सामन्था ल्युथवेट भएको पुष्टि भयो । सामन्थाबारे जानकारी पाएपछि केन्याको प्रहरीले भन्यो, ‘उनी सानो माछा होइन, विश्वमा घटेका आतंकवादी कतिपय घटनामा संलग्न छिन् ।’

सामन्था ब्रिटिश नागरिक आतंकवादी संगठन अल शबाबको सक्रिय सदस्य र दक्षिण अफ्रिकाबाट नर्स बनेर केन्या पसेको भन्ने थाहा पाएपछि ब्रिटेनको आतंकवादविरोधी जासुसी इकाइ ‘एसओ १५’ को एउटा टोली तुरुन्तै नैरोबी प्रस्थान ग¥यो । बरामद पासपोर्टबाट थाहा पाइयो कि उनी पटकपटक ताञ्जानिया र केन्या प्रवेश गर्ने गरेकी छन् । ताञ्जानियाको राजधानी मोम्बासा निवासी आतंकवादी संगठनलाई आर्थिक मद्दत गर्दै आएका मुसा हुसेन आब्दीकी पत्नीसित पनि सम्पर्कमा रहन्छिन् । सन् २०११ मा सोमालियामा प्रहरीसँग मुठभेडमा अल कायदाका नेता फजुल अब्दुल मुहम्मदसँगै मारिएका थिए आब्दी । आब्दीलाई अल शबाबको आर्थिक खम्बा नै मानिन्छ ।

छानबिनको क्रममा सामन्थाले कहिले नर्स, कहिले आइटी विशेषज्ञको रूपमा काम गरेको देखियो । अब उनको पछाडि दक्षिण अफ्रिका, ब्रिटेन, ताञ्जानिया, सोमालिया र केन्याको प्रहरी र जासुस संयुक्त रूपमा लाग्यो । साथै उनले सन् २०१० मै दक्षिण अफ्रिकामा चौथी सन्तानको रूपमा एउटी बच्ची जन्माएको पनि प्रमाण फेला प¥यो । अस्पतालमा उनले आफ्नो नाउँ अस्मा शाहिदाह बिंट–एन्ड्रयुज लेखाएकी रहिछन् । जाँचपडतालमा यो पनि पत्ता लाग्यो कि बच्चाका बाबु जो केन्याको पूर्वसैनिक अधिकारी थिए र अल शबाबमा लागेका थिए । सन् १९११ मा मोम्बासाको होटलमा आक्रमणको योजनामा संलग्न युवती नाताली वेब पनि सामन्था नै रहेको पुष्टि भयो ।

सन् २००८ मा केन्याको शरणार्थी शिविरमा पक्राउ परेकी र बुर्का लगाएकी महिला पनि उनै भएको जानकारीमा आयो । ती महिला गुप्तरूपमा सोमालिया गएर अल कायदाका नेतासित भेट्ने गरेको र पछि उनलाई आतंकवादीहरूले हमला गरी छुटाएर लगेको पात्र पनि उनै सामन्था थिइन् । अमेरिकाको सिआइएले पनि मोम्बासास्थित सेरेना होटलमा छापा मार्दा होटलको कोठामा बरामद एके ४७ राइफल, गोलाबारुद, डेटोनेटरको साथमा सामन्थाको फोटो फेला परेको सूचना दियो । सन् २०१२ को मोम्बासामा गरिएको ग्रिनेड हमला जसमा ३ जनाको मृत्यु र २५ जना घाइते भएका थिए, नैरोबीको सपिङ मलमा गरिएको आक्रमण जसमा ७१ जनाको ज्यान गएको थियो भने २ सयभन्दा बढी घाइते भएको थिए, लगायत कतिपय आतंकवादी हमलामा संलग्न रहेको पुष्टि भएपछि उनीमाथि रेडकर्नर नोटिस जारी गरियो । इन्टरपोलले उनलाई ४ सयजनाको मृत्युको कारक मानेको छ ।

तर, प्रहरीले आजपर्यन्त पक्रन सकेको छैन । सन् २०१४ मा बिबिसीले केन्या प्रहरीले उनको खोजीमा ठूलो अपरेसन चलाएको र गुप्त तवरमा सामन्थालाई सोमालियाको सीमा नजिक पु¥याइएको खबर प्रशारण गरेको थियो । एकाएक गायब भइसकेपछि केन्याको प्रहरीले सो समाचारको खण्डन ग¥यो र पक्राउ परेकी ती महिला सामन्था होइनन् एक इटालियन नागरिक भएको जानकारी दियो । संसारभरिमा ‘गोरी विधवा’ नाउँले कुख्याती कमाएकी सामन्थाको मृत्यु भैसकेको र उनको मृत्युको पछाडि रुसी जासुसको हात रहेको समाचार एकपटक प्रशारण भैसकेको थियो, तर आजसम्म यसको पुष्टि भने कतैबाट भैसकेको छैन । अत्यधिक खोजीमा रहेकी ब्रिटिश आतंककारी उनी कसैले केन्यामा त कसैले पाकिस्तानमा लुकेर बसिरहेको आशंका पनि गरेका छन् ।

टिप्पणीहरू