सारा जनता नांगै बस्ने एउटा संसार

सारा जनता नांगै बस्ने एउटा संसार

दक्षिण इङल्याण्डको हार्टफोर्डसायरमा एउटा गाउँ छ– स्पिलप्लाट्ज । यो जर्मन भाषाको शब्द हो र जसको यसको अर्थ हुन्छ – खेलमैदान । यो गाउँमा कूल ८५ वटा घर छन् अर्थात् यहाँको जनसंख्या भनेकै ती यहाँको घरमा बस्ने परिवार हो । यहाँका बासिन्दा सबै जना ढुंगेयुगका हैनन् न उनीहरूसित धनकै कमी छ तर अचम्म ! ढुंगेयुगका मानिसजस्तै र एकसरो लुगा लगाउन पनि नसक्ने अतिदरिद्र जस्तो नांगै बस्छन् ।

कतिपयले रिसोर्टको रूपमा मात्र हेर्ने गरेको यो गाउँ ७ एकड अर्थात् लगभग ९६ रोपनीमा फैलिएको छ । यहाँ क्लबहाउस छ, क्रिकेट मैदान छ, स्विमिङपुल छ, रेस्टुराँ एण्ड बार छन्, त्यसैले यो रिसोर्टजस्तै देखिन्छ । यहाँका बासिन्दा किनमेल गर्न गाउँबाहिर जानुपर्दा लुगा लगाएरै जान्छन् तर फर्केपछि पुनः वस्त्रहीन हुन्छन् । त्यस्तै अति जाडोको समय चिसो सहन नसक्नेले लुगा लगाउन सक्छन् । यो उनीहरूको स्वतन्त्रताको कुरा भयो । यस्तो अवस्थामा लुगा लगाउने र नलगाउने एकै ठाउँमा घुलमिल भएरै बस्छन्, कुनै अप्ठ्यारो मान्दैनन् ।

यो जमिन सन् १९२९ मा लण्डन निवासी चाल्र्स माकास्कीले ५ सय पाउण्डमा किनेका हुन् । स्कटल्याण्डमा सन् १८८५ मा जन्मेका थिए तर पेशाले इलेक्ट्रिकल इञ्जिनियर उनी लण्डनको पोर्टोबोलो रोडमा काम गर्थे । त्यो बेला यो जमिन पूर्णतः उजाड थियो, भौतिक वस्तुको नामोनिशान थिएन, त्यसैले शुरूमा यहाँ पत्नी डोरोथीसँग पाल टाँगेर बस्न थाले । त्यहाँ उनले चर्च, खेल्ने मैदान आदि बनाए । आफू बस्नलाई बनाएको त्रिपाल र वरिपरिको क्षेत्रलाई ‘युटोपिया क्याम्प’ नाउँ राखे । यूटोपियाको अर्थ एउटा आदर्श समाज हो। त्यस्तो समाज जहाँ कुनै किसिमको भेदभाव, अपराध हुने छैन, सामाजिक र आर्थिक समानता हुनेछ ।

यो एउटा काल्पनिक स्वप्नलोक हो । विस्तारै त्यहाँ उनीहरूका साथी, इष्टमित्र तथा अन्य दम्पती जान थाले र उक्त क्षेत्र २–४ दिन रमाइलो गरी बस्ने ठाउँ बन्यो । रमणीय ठाउँ भएको कारण अरु कतिपय दम्पती चाल्र्स र डोरोथी जस्तै स्थायी रूपमा बस्न थाले । यद्यपि, त्यसरी बस्न जाने दम्पतीले चाल्र्स र डोरोथीलाई भाडा तिर्थे । यसरी नै उक्त स्थानलाई सन् १९४७ मा कवि, चित्रकार तथा इतिहासकार रोस निकोलस, मानव शास्त्री र समाज शास्त्री गेराल्ड गार्डनर जस्ता ब्यक्तित्वले पनि आफ्नो वासस्थान बनाए । खासगरी प्रकृतिप्रेमीको निम्ति यो राम्रो वासस्थान बन्यो । यो गाउँको संस्थापक चाल्र्स आफै पनि प्रकृतिप्रेमी थिए । लुगा लगाउन मन नपराउने उनी भन्थे – ईश्वरले मानिसलाई बिनालुगा यो धर्तीमा पठाएको हो भने यसरी नै जीवनभर जीवन चलाउनुमा के को हिच्किचाहट ! कृत्रिम लुगा लगाएर अप्राकृतिक किन बन्नु !!

प्रकृतिप्रेमीको समुदाय गठन गरेर, लुगा नलगाई बस्नेहरूको छुट्टै र अनौठो बस्ती बसाल्ने चाल्र्स र डोरोथी त यतिखेर यो संसारमा छैनन् नै उनीहरूकी छोरी इसेल्ट रिचर्डसन पनि ८२ वर्षकी भइसकिन् । यतिखेर उनै यो अनौठो गाउँको सचिव छिन् । यो गोप्य र अनौठो गाउँबारे संसारले सन् १९५७ मा मात्र थाहा पायो जब ब्रिटिश टेलिभिजन आइटिभीमा एउटा टेलिसिरियल नै देखाइयो ‘आउट अफ स्टेप’ । भनिन्छ, टेलिभिजनको इतिहासमा नांगो मानिस देखाइएको यो नै पहिलो शो थियो । त्यसपछि सन् १९५९ मा चलचित्र बन्यो ‘न्युडिस्ट मेमोरिज’ ।

त्यसरी नै सन् १९६१ मा ‘नेक्ड आज् नेचर इन्टेन्डेड (प्रकृतिले चाहेजस्तो नग्न) प्रशारण भयो । उक्त फिचर सामग्रीमा चर्चित मोडल तथा अभिनेत्री पामेला ग्रीन देखा परिन् । पामेला आफै पनि उक्त गाउँमा गठित क्लबको सदस्य थिइन् । यसपछि यो गाउँको विषयलाई लिएर धेरै चलचित्र, डकुमेन्ट्री बने । सन् २००६ मा निर्मित ‘ऋयलाभततष्’ तीमध्येको एक हो ।

यो अनौठो गाउँमा त्यहाँका सदस्यहरूबीच स्विमिङ, सौन्दर्य प्रतियोगितालगायत अन्य खेलकुद आयोजना भैरहन्छ । सबै जना आफ्नै खुशीमा नांगै बस्ने गर्छन् । यहाँ बाहिरबाट आउने भनेका अनलाइन सामान डेलिभरी गर्ने र हुलाकीहरू हुन् । आगन्तुक लुगा लगाई छिर्न सक्छन् । संसारमा लुगा नलगाई बस्न, सुत्न, हिँडडुल गर्न सबै गर्न मिल्ने समुद्री तट र रिसोर्ट धेरै पाइन्छ तर गाउँकै रूपमा समुदाय नै स्थायी रूपमा बसोवास गरिरहेको यो नै पहिलो र अन्तिम गाउँ होला ।

भूमध्यसागरको समुद्री तटमा पनि एउटा रिसोर्ट छ । फ्रान्सेली भूमिमा अवस्थित यो रिसोर्टको नाउँ हो क्याप डीएग्डी । यो रिसोर्टका डिजाइनकर्ता हुन् आर्किटेक्ट इञ्जिनियर जीन ले कोर्टे । यो एउटा नेक्ड सिटी हो । यहाँको कानुनले नांगिनुलाई अवैध मान्दैन । यहाँका मानिस साँझ मौसम चिसो हुने भएकाले मात्र लुगा लगाउँछन् अथवा गोप्य अंगलाई छोप्छन् । यहाँ पूर्णतवरमा यौन स्वच्छन्दता छ । यहाँसम्म कि लोग्ने र पत्नी साटासाट गर्नसमेत मिल्छ । रिसोर्ट क्षेत्रभित्र २ किलोमिटर लामो समुद्रीबीच छ । डुंगा र नाउमा सफर गर्न मिल्ने ठूलो बन्दरगाहजस्तो ठाउँ छ ।

एकैचोटी २ हजार ५ सय जना रात बिताउन मिल्ने टेन्ट छन् । एपार्टमेन्ट घर, पसल, होटल, रेस्टुराँ, बार, हुलाक घर, बैंक, नाइटक्लब, कपाल काट्ने सैलुन, लुगा धुने लण्ड्रीलगायत सबै किसिमका सुविधा छन् । विशेषगरी गर्मी याममा ठूलो घुइँचो लाग्छ । कोरोना महामारी फैलिनुभन्दा अगाडि यो ठाउँ पर्यटकका लागि ठूलै केन्द्र थियो । विशेषतः यो जुवा खेल्न र यौन स्वच्छन्दता चाहनेहरूको केन्द्र नै हो, किनभने यहाँ पर्याप्त संख्यामा क्यासिनो र पार्टनर साटासाट गरी यौनसम्बन्ध राख्न मिल्ने स्वीङ्गर्स क्लबहरू छन् ।

वेष्ट इण्डियामा अवस्थित मुलुक जमैकामा पनि यस्तै एउटा रिसोर्ट छ । ओचो रियोसमा अवस्थित यो स्थानको नाउँ नै कपल्स टावर टापु हो । यहाँ पनि महिला पुरुष बिनाहिच्किचाहट नांगै घुम्न मिल्छ । यस्तै मेक्सिकोको डिजाइर रिभेरा माया रिसोर्ट, अजुलिक हिडनबीच रिसोर्ट, इन्तिमा, जमैकाकै हेडोनिज्म इल, ग्रान्ड लिडो नेगृल, फ्रान्सको ला जेन्नी, नेदरल्याण्डको अधिनमा रहेको क्यारिबियन मुलुक कुराकाओको नेचुरल कुराकाओ रिसोर्ट, इण्डोनेसियाको बालीस्थित बाली औ नाचुरेल, अमेरिकाको फ्लोरिडास्थित साइप्रेस कोभ र क्लाइन्त क्लब एण्ड रिसोर्ट, अष्ट्रेलियाको नोवास्रेइनास्थित सनल्याण्ड होलिडे भिलेज, स्पेनको भेरा प्लाया, हवाई द्वीपस्थित लिटलबीच आदि प्रमुख प्राकृतिक रिसोर्ट अथवा समुद्री तट हुन् जहाँ सबैजना महिलापुरुष प्राकृतिक अवस्थामा रहन, बस्न हिँडडुल गर्न सक्छन् । त्यस्तै क्यानाडाको ओन्टारियोमा पनि यस्ता समुद्री तट छन् भने ब्राजिलको फ्लोरिनापोलिस, अष्ट्रेलियाको बाइरन बे, जर्मनीको सिल्ट, इटलीको भेर्नज्जा पनि यस्तै स्थान हुन् ।

प्रायः युरोपेलीहरु प्राकृतिक अवस्थामा रहनुलाई आफ्नो मानवअधिकार ठान्छन् । तर, यसरी प्राकृतिक अवस्थामै रहन पाउनुपर्छ भनी सर्वप्रथम आवाज उठाइएको भने भारतमा हो, युरोपमा होइन । ब्रिटिशकालीन भारतमा मुम्बैको न्यायाधीश रहेका चाल्र्स क्राउफोर्डलाई पहिलो यस किसिमको आवाज उठाउने अधिकारकर्मी मानिन्छ । उनले नांगै बस्न पाउने क्लब बनाएका थिए, सन् १८९१ मा मुम्बैमा । उनको अभियानमा उनैका भाइहरू एण्ड्रु र केलोग काल्डेलऊडले साथ दिएपछि क्लब गठन सम्भव भएको थियो । पछि उनैको सल्लाहमा समलिंगीहरूले पनि अधिकार पाउनुपर्छ भनी हिँड्नेहरूले अष्ट्रियाको भियना र जर्मनीको म्युनिखमा यस्तै क्लब खोले ।

सन् १९०३ मा जर्मन नागरिक हेनरिख पुडोरले त प्राकृतिक अवस्थामा बस्न, रहन, हिँडडुल गर्न पाउनुपर्छ भनेर आन्दोलन नै चलाए । जसको प्रभावस्वरूप सन् १९२० को दशकमा युरोपमा यस्ता क्लबका सदस्य संख्या २ सय पुग्यो । सन् १९२९ मा जर्मनीकै एडोल्फ कोचले त यी अधिकारकर्मीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नै गरे । इतिहासको विकासक्रमसँगै प्राकृतिक रूपमा लुगाविहीन अवस्थामा बस्न पाउनुपर्छ भन्नेहरू आज संसारको यत्रतत्र फैलिसकेका छन् र त उनीहरूका निम्ति ठाउँठाउँमा क्लब, रिसोर्ट खुलेका छन्, नांगै पौडी खेल्न, रमाउन पाउने समुद्री तटको विकास गरिन थालेको छ ।

टिप्पणीहरू