लगातारको वर्षापछि प्रतियोगिता स्थगित, पुनः सञ्चालनको माग
भदौ २३ गतेदेखि शुरु भएको नवौंं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष किक्रेट प्रतियोगितामा लगातारको वर्षा बाधक बनेपछि पुनः प्रतियोगिता सञ्चालनको माग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गर्दै खेल म्यानेजरहरुले पुनः प्रतियोगिता आयोजनाको माग गरेका हुन् ।
वर्षाका कारण मूलपानीस्थित खेल मैदानमा खेलाउने भनिएका ११ वटा खेलमध्ये एउटा टससमेत हुन नपाई अंक बाँड्नुपरेको र कीर्तिपुर मैदानमा हुनुपर्ने १३ खेलमध्ये आठ वटा खेल नतिजाविहीन भएको उनीहरुले बताएका छन् । त्यसैगरी, प्रतियोगितामा सहभागी ११ टिममध्ये (बागमती, गण्डकी र सशस्त्र प्रहरी बल) एक खेल पनि नखेली बाहिरिएका छन् । अन्य प्रदेश तथा विभागीय टोलीसमेत पूरा खेल खेल्नबाट बञ्चित भएका हुन् ।
मौसम पूर्वानुमानअनुसार अबका खेलहरु पनि सञ्चालन हुने आशा नरहेको पत्रमा उल्लेख छ । हालकै खेल तालिकाअनुसार अघि बढ्दा र मौसमले साथ नदिँदा प्रतियोगितामा ५ ओभर मात्र खेलेको टिमलाई स्वर्ण विजेताका साथै संयुक्त रुपमा दुई वटा टिमले एउटै इभेण्टमा स्वर्ण पदक पाउँदा पदक संख्या वर्गीकरणमा असर पर्ने भएकाले सान्दर्भिक नहुने म्यानेजर टोलीको ठम्याई छ । सोही कारण पुनः तालिका निर्धारण गरी उपयुक्त समयमा प्रतियोगिता गर्नुपर्नेमा जोड दिइएको छ ।
पत्रमा भनिएको छ, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता देशकै खेलकुदको कुम्भमेलाको रुपमा लिने गरिन्छ । तर यस्ता महत्व बोकेका प्रतियोगिताहरुमा खेलाडीहरुले आफ्नो खेल प्रर्दशनका लागि दिनरात मेहनत गरेर बसेका खेलाडीहरुलाई वर्षा र झरीमा प्रतियोगिता आयोजना गर्नु, प्रतियोगिता दौरान कुनै पनि वैकल्पिक उपायसमेत नराखी खेल तालिका बनाउँदा खेलाडीहरुको मेहनत र राज्यको लगानी पानीमा बगेर गएको देखिन्छ ।’
प्राविधिक रुपमा खेल सम्पन्न गरेर पदक वितरण गरे पनि राष्ट्रिय प्रतियोगिताको महत्व र विश्वसनीयता नरहने उनीहरुको ठहर छ । पत्रमा गण्डकी प्रदेशका म्यानेजर ऋषिराम गौतम, प्रदेश नम्बर १ का अर्जुन पौडेल, मधेशका गुर्बुजा हवारी, नेपाल एपीएफ क्लबका किरणप्रकाश खत्री, सुदूरपश्चिमका दिपेन्द्रबहादुर चन्द, कर्णालीका जनकविक्रम शाही, बागमतीका सुजन महर्जन, लुम्बिनीका भरत थापाले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू