दलालद्वारा कुबेत पुर्याइएकी सीताको उता बिचल्ली,यता परिवारलाई पीर

दलालद्वारा कुबेत पुर्याइएकी सीताको उता बिचल्ली,यता परिवारलाई पीर

मुलुकमा रोजगारीको अवसर नभएकाले नेपालीलाई विदेशिनुपर्ने बाध्यता छ । स्वदेशमा केही गरेर खाऔं भन्दा पनि अवसर नपाएपछि विदेश ताक्नु स्वाभाविकै हो । पहिले कमाउनको निम्ति पुरुष मात्र विदेशिने गरिन्थ्यो । तर केही समययता त्यसरी बाहिर जानेमा महिलाको संख्या पनि ह्वात्तै बढेको छ ।

तर,महिलाका लागि वैदेशिक रोजगारी निकै जोखिमपूर्ण देखिँदै गएको छ । उनीहरु मानसिक,शारीरिक र आर्थिक शोषणमा परेका खबर धेरै बाहिरिएका छन् । सुन्दर सपना बुन्दै विदेशिएकी बर्दियाकी सीता वलीमाथि पनि सोच्दै नसोचेको घटना आइपरेको छ ।

राम्रो कामको प्रलोभनमा परेर कुबेत पुगेकी सीता अनेक यातनाको शिकार भएकी छन् । बर्दियाको बाँसगढी नगरपालिका घर भएकी उनी रोजगारीको सिलसिलामा तीन महिनाअघि कुवेत पुगेकी थिइन् ।

सुर्खेतको गर्भाकोट मालरानी घर भएका गोविन्द वलीमार्फत गएकी सीता अहिले थलिएकी छन् । पैसा कमाएर घर परिवारलाई सुःखसँग पाल्ने उनको सपना चकनाचुर भएको छ भने अहिले शरीरले काम गर्न छाडेको बताइन्छ ।

नेपाली दलालहरुले वैदेशिक रोजगारीमा जाने महिलालाई अनेकौं प्रलोभन देखाएर फसाउने गरेका समाचार पढ्न र देख्न पाइन्छ । तीमध्ये गोविन्द पनि एक हुन् । ‘राम्रो काम छ’ भन्दै आश्वासन दिइयो । तर,सीताले कुवेत पुगेपछि मात्र आफू बेचिएकोबारे थाहा पाएकी हुन् ।

कुवेतको घरमा उनीमाथि मालिकले सँधै हातपात गर्ने गरेको आरोप छ । दिनहुँको यातना र कुटाइ सहन नसकेपछि भागेकी उनी कुवेतस्थित नेपाली दूतावास गुहार्न पुगिन् । दूतावासले वास्ता नगरेपछि गोविन्दलाई सम्पर्क गरेको परिवारको भनाइ छ ।

तर,गोविन्दले चार लाख रुपैयाँ बुझाएपछि मात्र स्वदेश फिर्ता हुने बताएपछि गरिब परिवार छाँगाबाट खसेझैं भएको छ । बिहान-बेलुकीको छाक टार्न मुश्किल परिवारले कहाँबाट त्यत्रो रकमको बन्दोबस्त गरोस् ?

हाल उनी जसोतसो ज्यान जोगाएर एक नेपाली महिलाको आश्रयमा पुगेको परिवारको भनाइ छ । उनीहरुले छोरीलाई स्वदेश फिर्ता ल्याउन आवश्यक सहयोगको निम्ति सबैमा अपिल गरेका छन् । साथै, सीतालाई जस्तै अनेक प्रलोभनमा विदेश पुर्याएर अलपत्र पार्ने दलाललाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

टिप्पणीहरू