धुलिखेलदेखि दोलालघाटसम्म जान टाइम कार्ड

धुलिखेलदेखि दोलालघाटसम्म जान टाइम कार्ड

अरनिको लोकमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको दोलालघाटदेखि धुलिखेलसम्म सार्वजनिक सवारी साधनका निम्ति ‘टाइम कार्ड’ लागु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले सबै सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागु गरेको हो । जसमा १० किलोमिटरको दोलालघाटदेखि पाँचखालसम्म २० मीनेटको समयावधि राखिएको छ भने १५ किलोमिटरको पाँचखालदेखि धुलिखेलसम्म ३० मीनेटमा पुग्नुपर्ने छ । काठमाण्डौंबाट काभ्रेपलाञ्चोकको धुलिखेल हुँदै विभिन्न जिल्लाका लागि छुट्ने सवारी साधनले धुलिखेलबाट पाँचखालका लागि ३० मीनेट र पाँचखालबाट दोलालघाट पुग्न २० मीनेट समय खर्चिनुपर्नेछ ।

यसअघि टाइमकार्ड लागु नहुँदा दोलालघाटदेखि पाँचखाल जाँदा वा आउँदा १० मीनेटमा पुग्ने गरिएको थियो भने पाँचखालबाट धुलिखेल जाँदा अर्थात आउँदा २० मीनेट लाग्थ्यो । तर, अहिले यसअघि ३० मीनेटमा पार गर्दै आएको यात्रालाई ५० मीनेट लाग्ने भएको छ ।सोही कारण दोलखा,रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका विभिन्न स्थान हुँदै काठमाडौं जाने यात्रु तथा सवारीका साधन र जिल्ला आउने सवारीका साधनले बीच बाटोमा कुर्नुपर्ने र बढी समय खर्च गर्नुपर्ने अवस्था आएको छ । त्यसले छिटो–छरितो यात्रालाई रोक लगाए पनि दुर्घटनाको जोखिम भने कम गर्नेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख (इन्स्पेक्टर) राजेश सिलवालले यो नियम दशैं,तिहारमा सवारी साधनमा हुने भीडभाडले हुन सक्ने दुर्घटनाको जोखिमलाई लक्षित गरी लागु गरेपनि निरन्तर रहिरहने जानकारी दिनुभयो ।

केन्द्रदेखि नै कडाईका साथ लागु गर्न निर्देशन आएपछि अरनिको लोकमार्गअन्तर्गत दोलालघाटदेखि–धुलिखेलसम्म लागु गरिएको र त्यसको प्रभाव पनि राम्रै भएको उहाँले बताउनुभयो । विगतको तुलनामा यो वर्षको मुख्य चाड पर्वमा कम सवारी दुर्घटनामा परेको तथ्यांक छ । यसअघि बिपी लोकमार्गअन्तर्गत सिन्धुलीको भिमानदेखि सिन्धुली र सिन्धुलीबाट खुर्काेट तथा खुर्काेटबाट नेपालथोक सम्म सवारीका साधनलाई टाइम कार्ड लागु गरिएको थियो ।

टिप्पणीहरू