काठमाडौंका अर्का मेयरलाई निर्वाचन आयोगको पुर्जी

काठमाडौंका अर्का मेयरलाई निर्वाचन आयोगको पुर्जी

निर्वाचन आयोगले काठमाडौँको मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीलाई २४ घण्टे पत्र थमाएको छ । मेयर कार्कीले आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको हो । 

उनले काठमाण्डौँ २ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारको प्रचारप्रसार गरेको आयोगको आरोपमा उल्लेख छ । सोही विषयमा मेयर कार्कीविरुद्ध उजुरी परेको निर्वाचन आयोगले बताएको छ । 

निर्वाचन आचारसंहितामा स्थानीय जनप्रतिनिधिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले पत्र काटेको २४ घण्टाभित्र लिखित जवाफ दिन उनलाई निर्देशन दिएको छ । 

‘तपाईंले आफू कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिकाको सदस्य रहँदा रहँदै  नगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गर्नु नपर्ने हो ?’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।
 

टिप्पणीहरू