जग्गा फिर्ता माग गर्नेमाथि हातपात प्रयास

जग्गा फिर्ता माग गर्नेमाथि हातपात प्रयास

हेटौंडामा आफ्नो जग्गा फिर्ता माग गर्दै धर्नामा बसेका समूहमाथि पीडक पक्षले हातपातको प्रयास गरेका छन् । स्थानीय बुद्धचोकमा पीडक नियमराज शाक्य समूहले पीडित जगतबहादुर विकसहितको समूहमाथि दुर्व्र्यवहार गरेको हो ।

जगतबहादुरको बन्धकी जग्गा फिर्ता गर्न माग गर्दै गत कार्तिक २९ गतेदेखि हेटौंडा–१ बुद्धचोकस्थित पीडक नियमराज शाक्यको घर अगाडि उनीहरुले धर्ना दिँदै आएका छन् । १० औं दिनको दिन धर्ना दिने क्रममा नियमराजसहित उनका सालो रुपकराज बज्राचार्यसहितको समूहले दुर्व्र्यवहार गरेको स्थानीय निलम विकले बताए ।

रुपकराजले धर्नामा बसेका जगतबहादुरलाई हातपात समेत गरेका छन् । धर्नाकारीले आफूहरुको बाटो अवरोध गरेको भन्दै उनीहरुमाथि हातपात भएको शाक्य पक्षले बताएको छ । जगतले आफ्ना बाबु लालबहादुर सुनारको नाममा हेटौंडा–१३ पदमपोखरीमा रहेको ११ कठ्ठा १६ धुरजग्गा २३ वर्षअघि (२०५६ सालमा) नियमराजसँग दृष्टिबन्धकी राखेर ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

उक्त ऋण रकम र ब्याज पटक–पटक फिर्ता गर्न खोज्दा नियमराजले लिन नमानेको जगत बहादुरले बताए । आफूले २०५९ सालदेखि ऋण र ब्याज फिर्ता गर्न खोज्दा हालसम्म पैसा नलिएको र जग्गा फिर्ता नगरेको जगतबहादुको आरोप छ । २३ वर्षदेखि दृष्टिबन्धकी राखिएको जग्गा फिर्ता गर्न नसकेपछि सडकमा धर्ना दिनु परेको विकले सुनाए ।

टिप्पणीहरू