गरिबको हातमा बिहानै बेल्चा,धनीको हातमा कुकुरको डोरी

गरिबको हातमा बिहानै बेल्चा,धनीको हातमा कुकुरको डोरी

कोक्रोबाट सुरुवात भएको जिन्दगी चितामा नअस्ताउनजेलसम्म मान्छे बाँच्नकै लागि अनेक कर्ममा ब्यस्त हुन्छ ।

कोही सहज कर्ममा पुग्छ त कसैले अपठ्यारो बाटो  समाउँछ । कोहीलाई एक गाँस खानको लागि ज्यान मायाँ मारेर हिंड्नुपर्छ त कोही सोखिन पाराले बाँचिरहन्छन् । जीवनका ओराली उकाली,भञ्ज्याङ चौतारी गर्दै गर्दा थकित भएका सिन्धुपाल्चोकका माइला तामाङको जीवन कहानी यसरी शुरु हुन्छ-

बिहानको झिसमिसेसङ्गै  ललितपुरको पुल्चोक हुँदै जावलाखेलको सडक अगाडि पुग्दै गर्दा मेरो नयनमा भरखर उदाएको सूर्यको टहक पर्दै थियो । वरिपरी तरकारी बेच्नेहरुको केही जमात देखिन्थ्यो । केही चियाको चुस्की लिँदै कुरा गरिरहेका थिए ।

परबाट मैले एक जना ब्यक्ति गन्जी र हाफ कटटु लगाएर हातमा बेल्चा लिएर आइरहेको देखेँ । नभन्दै उनी  मेरै नजिक बसेर चिया पिउन थाले । बिहानको चिसोमा चिया पिउँदै गर्दा उनको हात मात्र नभई  जिउ नै कामिरहेको थियो । 

शरिरमा चिसोले काँडा पलाएको प्रष्ट देख्न सकिन्थ्यो । मलाई खुल्दुली लाग्यो अनि सोधेँ- दाइ,हजुरलाई जाडो हुँदैन ?  ज्वरो आउला,अलि तातो कपडा लगाउनुपर्छ । बिहान त  एकोहोरो हुँदै एकछिन मलाई हेरेर भन्नुभयो- भाइ,जाडो त पचिसक्यो । दु:खीको कर्म यस्तै हो, छोराछोरी पाल्नुपर्छ, बच्चा पढ्दै छ,हामेले राम्रो लगाएर के गर्नु भाइ, म कुनै रहरले यति चिसोमा बेल्चा बोक्दै कहाँ आएको हुँ र ! 

अनि उहाँ चुरोट दिनुस् त भन्दै पसलेतिर फर्कनुभयो । चुरोट समात्ने हात ठेला र चोटहरुले भरिएको थियो । जुन हातको मैले तस्वीर समेत कैद गरेँ तर अरु फोटो खिच्न दिन भने मान्नुभएन । फेरि मैले दाइ,हात त धुनुपर्छ नि भन्दा उहाँले भन्नुभयो-खोइ मरेपछि आगोले धोला,अहिले धोयो,एकछिनमा त्यस्तै भइहाल्छ । 

त्यो जवाफ सकिँदै गर्दा एक जना  स्थानीय बासिन्दा कुकुर डोर्याउँदै आउनुभयो र पसलेलाई एक पुरी बिस्कुट दिनुस् भन्दै कुकुरलाई दिनुभयो । ती दाइले भन्नुभयो- भाइ,हेर्नु,धनीको हातमा बिहानै कुकुर हुन्छ,हामी गरिवको हातमा बिहानै बेल्चा हुन्छ । के गर्नु, कर्मको खेल यस्तै हो भन्दै दाइ हिंड्नुभयो।

टिप्पणीहरू