वडा सदस्यले नै सार्वजनिक जग्गा मिचेपछि

वडा सदस्यले नै सार्वजनिक जग्गा मिचेपछि

काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङका वडा सदस्य रामज्योती पहरीले सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ ।
 जग्गा अतिक्रमण गर्दा पनि पालिका र वडाबाट कुनै अनुगमन नभएको भन्दै स्थानीयले सामाजिक सञ्जालमार्फत बिरोध जनाएका छन् ।

सदस्य पहरीले सोही वडास्थित श्री सेती देवी  आधारभूत विद्यालयको  कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमण गरी पक्की घर बनाएको र वडाध्यक्षसहित गाउँ कार्यपालिका  मौन रहेको  स्थानीय समाजसेवी सुजन बस्नेतले गुनासो गर्नुभयो । "स्कूलको जग्गा  सडक मिचेर घर  बनाउनु भएको छ । हामी यसबारे कुरा उठाउँदै छौं ।" विद्यालयकी प्रधानाध्यापिका पुनम लामाले गुनासो पोख्नुभयो । 

जग्गा अतिक्रमण गरेर घर बनाउँदा किन मौन ? भनी  वडा अध्यक्ष लेखनाथ श्रेष्ठसँग प्रश्न गर्दा सुनेको नसुन्यै गरेको र उल्टै सदस्यलाई छिटो छिटो काम सकाउन आदेश दिएको स्रोतले जनाएको छ ।
"हो,मैले १२ बर्षदेखि यो ठाउँमा पसल चलाउँदै आएको छु । अरुले जग्गा मिच्न पाउँदा मैले किन नपाउने ?
पहिला अरुले मिचेको पनि हेरुन् । मेरो लालपुर्जा केही छैन ।पहिलादेखि बसेको भएर बनाएको हुँ ।
पहिला अरुको भत्काएर आउन् त्यसपछि म शुरु गरौंला ।"–पहरीले जङ्गिएर भन्नुभयो ।
पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका सदस्य पहरीले पसल थाप्नको लागि घर बनाएको र निरन्तर बनाउँदै लैजाने बताउनुभयो ।

उता,वडा अध्यक्ष लेखनाथ श्रेष्ठले भने आफूहरुले बनाउनु हुँदैन भन्दा  पनि अटेर गरेर बनाएको आरोप लगाउनुभयो । "मैले नबनाउँ भनेको हो तर पनि बनाए । उनको पुर्जा भित्रको जग्गा होइन । म यो कुरा कार्यपालिकाको बैठकमा पनि राख्छु ।"उहाँको यो भनाइसङ्गै 
यस बिषयमा पालिका अध्यक्ष प्रेम भुजेजसँग  सापिङमा जग्गा अतिक्रमण भइरहेको छ त,अनुगमन गर्नुभएन ?भनी प्रश्न गर्दा उहाँको जवाफ यस्तो थियो- "ए हो र,म गएको छैन,गएर बुझ्छु।"

टिप्पणीहरू