लाहानमा धान बोकेका ट्याक्टरको ताँती

लाहानमा धान बोकेका ट्याक्टरको ताँती -सन्तोष बराइली

सरकारले यो वर्ष सिराहाको लाहान क्षेत्रबाट मात्रै २० हजार क्विण्टल धान खरिद गर्ने भएको छ । कृषि मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लाहानबाट उक्त परिमाणको धान खरिदको निम्ति आवश्यक तयारी थालेको बताइएको छ ।

यो वर्ष २० हजार क्विण्टल धान खरीद गरिँदैछ । १५ हजार क्विण्टल सोना मन्सुली र पाँच हजार किलो जिरा मसिनो धान खरीद गर्न लागिएको हो,’ कम्पनी स्रोतले बतायो । आजदेखि केन्द्रले केन्द्रले धान खरीद गर्ने सूचना सार्वजनिक गरेपछि अस्तिदेखि धान बोकेका ट्रयाक्टरहरूको ताँती लागेको छ । व्यापार केन्द्र अगाडिको क्याम्पस रोडमा धानको ट्रयाक्टरको भीड देखिन्छ । यतिखेर लाहान धानमय भएको छ ।

कम्पनीका प्रमुख रविन्द्रकुमार यादवले गत वर्ष पनि सरकारले लाहानबाट १५ हजार क्विन्टल धान खरिद गरेको बताउँदै भने, ‘यो वर्ष २० हजार क्विण्टल धान खरीद गरिँदैछ । १५ हजार क्विण्टल सोना मन्सुली र पाँच हजार किलो जिरा मसिनो धान खरीद गर्न लागिएको हो ।’

यस पटक सोना मन्सुली धान क्विण्टलको ३१ सय २८ रूपैयाँ र सोना मन्सुली धान क्विण्टलको २९ सय २ रूपैयाँ मूल्य निर्धारण गरिएको छ । गत वर्ष एक किसान बराबर एक सय क्विण्टल कोटा निर्धारण गरिएकोमा बिचौलियाले चलखेल गरेको पाइएपछि यस पटक ५० क्विण्टल कोटा निर्धारण गरिएको प्रमुख यादवले जानकारी दिए । 

‘बिचौलिया हाबी हुने देखिएपछि हामीले स्थानीय तहले किसान प्रमाणित गरेको कागजात, लालपूर्जा र नागरिकताको फोटोकपी अनिवार्य रूपमा कार्यालयलाई उपलब्ध गराउनुपर्ने नियम राखेका छौँ,’ यादवले भने, ‘भुक्तानी तत्काल चेक मार्फत गर्ने व्यवस्था गरेका छौं ।’

 

टिप्पणीहरू