माधव नेपालले भन्नुभयो ‘सरकारमा सामेल हुँदैनौं’
दुई ठूला वामपन्थी पार्टी एमाले र माओवादी केन्द्रको सहकार्यमा एकीकृत समाजवादी सहभागी नहुने भएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी एमाले–माओवादी नेतृत्वको गठबन्धन सरकारमा सामेल नहुने स्पष्ट पारेपछि सम्भावित वाम एकताको च्याप्टरसमेत हाललाई बन्द भएको अर्थ लगाइएको छ ।
आजदेखि सुरु पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नहुने बताउँदै पार्टी निर्माणमा लाग्ने बताउनुभयो । यसअघि समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने चर्चा थियो ।
तर, आजको बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक भूमिका खेलिरहेको दाबी गर्दै कसैसामु लत्रने पक्षमा नरहेको बताउनुभयो । ‘देशको राजनीतिमा आफ्नै खालका जटिलता छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ उहाँले भन्नुभयो ।
नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी गठन गर्नुपरेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।
यसअघि हिजो र अस्ति बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।
टिप्पणीहरू