मातासँग यति घनिष्ट थिए चिनियाँ नेता माओ

मातासँग यति घनिष्ट थिए चिनियाँ नेता माओ सन्दर्भ : माओ जयन्ती

चिनियाँ नेता माओ त्सेतुङको बुबाभन्दा आमाप्रति अनुराग थियो । हाकाहाकी भन्थे, ‘मेरो परिवारभित्र दुई पार्टी (दल) छन् । एउटा बुबाको शासक दल, अर्को म, मेरी आमा, दाजुभाइ र केही कामदारको विपक्षी दल । शारीरिक रूपमा उनी बाबु माओ यिचाङजस्तै देखिन्थे, गोलो अनुहार र फराकिलो निधार । आँखा भने आमा वेन खिमेइसँग मिल्थ्यो । दुवैको आँखा निकै चम्किलो थियो । माओ घरका तेश्रो सन्तान । अगाडिका दुवै सन्तानको सानैमा मृत्यु भइसकेको थियो । बाजे वेन खिफु जुत्ता सिलाउँथे र गरिब थिए । जँड्याहा थिए ।

पत्नीलाई कुट्थे । लोग्नेको अत्याचार सहन नसकी एकदिन वेनकी आमा छोराछोरीलाई लिएर घरबाट भागिन् र हुनान प्रान्तको शाओसान पुगी ६० वर्षको बूढो जमिन्दारसित पुनर्विवाह गरिन् । उनै जमिन्दारले १३ वर्षकी सौतेनी छोरी वेनको बिहे १० वर्षका यिचाङसँग गरिदिएका हुन् । तत्कालीन चीनमा छोराभन्दा जेठी उमेरकी बुहारी भिœयाउने चलन थियो । माओकी प्रथम पत्नी लुओ यिसिउ पनि माओभन्दा ४ वर्षले जेठी थिइन् । त्योबेला माओ १४ र लुओ १८ का थिए । नाताले लुओ माओकी काकी पर्थिन् । लुओ माओको घरमा २ वर्ष मात्र बसिन् । २० वर्षको कलिलो उमेरमै सन् २०१० मा उनको निधन भयो । 

माओ जन्मिँदा वेन खिमेइ २६ की थिइन् । भर्खर जन्मेको छोरो प्रति निकै चिन्तित देखिइन् किनभने अघिल्लो दुई सन्तानलाई उनले बचाउन सकेकी थिइनन् । त्यसमाथि शिशु माओको शरीर अलि धेरै ठूलो थियो । तौल पनि धेरै । वेनलाई यो कुरो असामान्य लाग्यो । र, बच्चालाई हुर्काउन सक्दिनँ कि भन्ठानिन् ! वेनका लोग्ने यिचाङलाई भने यी कुरोसित कुनै मतलब थिएन । वेन बुद्ध धर्मप्रति ठूलो आस्था राख्थिन् । तसर्थ आत्तिएर नवजात शिशुलाई नरम र भुवादार सेतो कपडामा बेरिन् र लोग्नेलाई थाहै नदिई पहाडी इलाकातर्फ लागिन्, जहाँ एक जना बौद्ध भिक्षुणी बस्थिन् ।

आँखाबाट आँशु खसाल्दै छोरोलाई पालेर ज्यान बचाइदिन अनुरोध गरिन्  तर भिक्षुणीले शिशु स्वस्थ नै छ भन्दै जिम्मा लिन अस्वीकार गरिन् । साथै बच्चालाई केही नहुने आश्वासन दिइन् । भिक्षुणीको कुरोले मन हल्का भए पनि पूर्ण आश्वस्त बन्न सकिनन् । त्यसैले छोरोलाई च्यापेर माइतीघरतर्फ दौडिइन् । बाटोमा सानो मन्दिर देखिन् । १२ फुटको उचाइमा ठूलो ढुंगामाथि बनेको मन्दिरभित्र दयाकी देवी ग्वानयिन बोधिसत्वको मूर्ति थियो । निराशा र थकाइले चूर वेनले प्रणाम गरिन् र छोरोलाई देवीको पाउमा चढाई सन्तानको धाइआमा बनेर पालनपोषण गरिदिन अनुनय विनय गरिन् । 

वेन त्यसपछि माइत पुगिन् र छोरोलाई आमाको जिम्मा लगाएर घर फर्किन् । उनी दिनहुँ छोराको स्वास्थ्यको कामनासहित बुद्धको प्रार्थना गर्थिन् । दान धर्म गर्थिन् । माओ बज्यैको स्याहारसुसारमा मामाघरमा हुर्के । मामाले निकै माया गर्थे । माओ आमाको सच्चा पुत्र थिए । आज्ञाकारी थिए । आमाको हरेक गतिविधिबाट उत्ति नै प्रभावित । आमाले गर्ने बुद्ध धर्मप्रतिको भक्तिभावले प्रभावित नभइरहन सकेनन् । अतः शुरुका दिनमा ईश्वर, भूत र आत्माप्रति विश्वास गर्न थाले । रहस्यवाद र तन्त्रज्ञानप्रति पनि विश्वास जाग्यो । शाओसानमाथि बनेको गुम्बामा दिनहुँ गएर प्रार्थना गर्न थाले । पछि माओ कम्युनिष्ट बनेर शक्तिशाली व्यक्ति भएपछि एकदिन आफ्ना अंगरक्षकलाई लाचारी प्रकट प्रकट गर्दै भने, ‘हामीले धर्म, भगवान नमान्दैमा के हुन्छ ! हाम्रा अभिभावक, पुर्खा सबैले मानेका छन् । उनीहरूको धर्मप्रति अथाह भक्ति थियो, छ । यो कुरोलाई नकार्न मिल्दैन ।’ 

माओ यिचाङ छोरोलाई धनी व्यापारी बनाउन चाहन्थे । त्यसैले नजिकै सियान्तान शहरको ठूलो पसलमा काममा लगाइदिए । त्यो बेला माओ १६ वर्षको भइसकेका थिए र बाबुको भन्दा फरक विचार राख्थे । स्कुले ज्ञानको साथसाथै जनताको सेवा गर्ने ज्ञान प्राप्त गर्न चाहन्थे । उनी जब १२ वर्षका भए, पिताले खेतीपाती र हिसाबकिताब राख्ने कला (लेखा) को सम्पूर्ण ज्ञान सिकाए । पसलमा काम गरेदेखि माओको दिन व्यस्त बन्न थाल्यो । अध्ययनका लागि समय नै रहेन । नतिजास्वरुप व्यावसायिक दिमागका बाबु र अध्ययनमा रुचि राख्ने छोराको बीच सधैं झगडा हुन थाल्यो । यिचाङ माओलाई अल्छी, काम नलाग्ने र लाज शरम नभएको केटो भनेर गाली गर्थे । झगडामा वेन सधैं छोराको पक्ष लिन्थिन् । यसमा उनले गाउँका ज्येष्ठ नागरिक र शिक्षित व्यक्तिको सहयोग लिइन् । उनीहरूमार्फत लोग्नेलाई सम्झाउन सफल भइन् । बल्ल यिचाङले छोरोको अध्ययनमा व्यवधान नपार्ने भए । केही पैसा पनि दिए ।

सन् १९१० मा माओ १७ वर्षको भए र अध्ययनको लागि गाउँ छाडेर जाने तयारी गर्दै थिए । वेनले झिटिगुण्टा मिलाउन सघाइन् । यसपछि माओ मामाघर गए र त्यहाँको स्कुलमा पढ्न थाले । पछि स्कुले शिक्षा पूरा गर्न हुनान प्रान्तको छाङ्शा गए । घरबाट टाढा गएदेखि नै उनलाई सदा आमाको सम्झनाले सताउन थालिसकेको थियो । सन् १९१९ को शरद महिना । त्योबेला माओ चाङ्शास्थित हुनान प्रान्तकै पहिलो साधारण स्कुलसित सम्बद्ध प्राइमरी स्कुलमा कार्यवाहक प्रिन्सिपलको रूपमा कार्यरत थिए । बिरामी आमालाई शाओसानबाट छाङशा ल्याए । वेन लसिकासम्बन्धी रोग (लिम्फोनोडाइटिस) बाट पीडित थिइन् । त्यहाँ जेठो छोरो माओ त्सेतुङ, माइलो छोरो जेमिन र कान्छो छोरो जेतान मिलेर आमाको खुब हेरचाह गरे । सबै कुरोमा ध्यान पु¥याए । स्वास्थ्यमा सुधार भएपछि वेन माओ जेमिनसँगै शाओसान फर्किइन् । 

अक्टोबरमा माओको चाखर तथा हुनान प्रान्तका सैनिक गभर्नर झाङ जिङयाओसँग टक्कर प¥यो । सेनाको अत्याचार चरमोत्कर्षमा पुग्यो । झाङको निर्देशनमा सेनाले हत्या, लुटपाट र महिलामाथि बलात्कार गर्न थालेपछि हाहाकार मच्चियो । स्थानीय सरकारले माओको पत्रिका ‘सियाङ जियाङ रिभर कमेन्ट्री’ माथि सेन्सर लगायो किनभने उक्त पत्रिकामार्फत माओले गभर्नर झाङको अत्याचारको विरोध गर्दै उनलाई पदबाट हटाउन जनतालाई आह्वान गरेका थिए । माओ उनलाई पदबाट बर्खास्त गर्न विद्यार्थी टोलीको नेतृत्व गर्दै राजधानी बेइजिङसम्म पुगे । यसैबीच भाइ जेमिनले पठाएको पत्र हात लाग्यो । पत्रमा आमा सिकिस्त बिरामी भएको दुःखद खबर थियो ।

खबर पाउनेबित्तिकै अर्को भाइ जेतान र उनी राति नै शाओसानतर्फ लागे । घर पुग्दा आमाको शरीर मूर्दा राख्ने बाकसमा राखिसकिएको थियो । वेनको निधन उनीहरू पुग्नु दुई दिनअगाडि नै भइसकेको रहेछ । जेमिनले दाजु माओलाई ‘आमा सधैं तपाईं र भाइ जेतानलाई सम्झेर रुने गर्नुहुन्थ्यो’ भन्ने खबर सुनाएपछि त माओ झन् शोकले विह्वल बने । उनको गालाबाट आँशु बग्यो । धेरै बेर शव राखेको बाकसमै टाउको अड्याएर बसे । केटाकेटीमा आमासित बिताएका क्षण सम्झे । र, एकछिनमा कोठाभित्र पसी टुकीको मधुरो प्रकाशमा आमाको सम्झनामा कविता लेखे ।

यसपछि माओ क्रान्तिमा व्यस्त भए । आमाको चिहानमा सन् १९२१, १९२५ र १९२७ मा मात्र पुग्न सके । समयको प्रवाहसँगै उनी देशको सर्वोच्च पदमा पुगे । ३२ वर्षपछि बल्ल सन् १९५९ मा आफ्नो गाउँ टेक्न पाए । आफू जन्मेको घरभित्र पसेपछि भित्तामा झुन्ड्याइएको आमाबुबाको फोटोसामु मौन भएर उभिए । र, एकछिनपछि सहयोगीलाई बताए– अहिलेसम्म जीवित भएको भए उहाँहरूले यसरी अकालमै मर्नुपर्ने थिएन । स्मरणीय छ, उनका पिता माओ यिचाङको मृत्यु ५९ वर्षको उमेरमा टाइफाइडबाट र आमा वेनको निधन ५२ वर्षको उमेरमा भएको थियो । उनी सधैँ आफ्ना आमाबाबुको मृत्युलाई असामयिक मान्थे ।

चीनका गाउँहरूमा स्वास्थ्य उपचारको राम्रो सुविधा नभएकैले आमाबुबालगायत लाखौँ गाउँलेले असमयमै मृत्युवरण गर्नु परिरहेको धारणा उनको थियो । पूर्वजहरूले कठिन जीवन भोग्नुप¥यो भन्ने भनाइ हो उनको । यसैकारण सत्तामा पुगिसकेपछि ग्रामीण स्वास्थ्यमा बढी ध्यान केन्द्रित गरे । डाक्टरको अभाव पूर्ति गर्न तत्कालको लागि सहायक चिकित्साकर्मीको तयारीमा जोड दिए । गाउँ पुग्नेक्रममै उनी आमाबुबाको चिहानमा गए । चिनियाँ परम्पराअनुरूप तीन पटक शीर झुकाएर एकछिन मौन उभिइरहे । उनले जीवनमा सधैं, सबैभन्दा बढी सम्झने गर्थे आमालाई ।
 

टिप्पणीहरू