चौकीमा पानी तपतप, डिएसपीको होटलमा बास

चौकीमा पानी तपतप, डिएसपीको होटलमा बास

भनिन्छ सुरक्षाकर्मीले पहिले अरुको सुरक्षा दिन्छन् । उनीहरुका कार्यालयलगायत सबैपक्ष बजबुत र सुविधा सम्पन्न हुन्छन् । चौकीहरुमा कुनै समस्या हुँदैन । 

तर, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, सुखडस्थित इलाका प्रहरी कार्यालय देख्ने जो कोहीलाई लाग्छ, ‘प्रहरीलाई नै सुरक्षा दिनुपर्ने अवस्था छ ।’ मानव जीवनको निम्ति गास, बास र कपास अत्यावश्यकभित्र पर्छ । तर, कैलालीमा समाजको सुरक्षा दिने प्रहरी निकाय नै ती वस्तुको अभावमा हारगुहार गरिरहेका छन् ।

सुखडस्थित राजमार्ग छेउमा रहेको इलाका प्रहरी चौकी भवन २०५४ सालमा बनेको हो । सीमित जनशक्तिको निम्ति २५ वर्षअघि बनाइएको उक्त चौकीमा अहिले डिएसपी सुत्न जाँदा अरु जनशक्ति बाहिर बस्नुपर्ने अवस्था छ ।

भवनहरु सबै जीर्ण भएको छ भने टिनका छानोमा प्वाल परेर बर्खामा पानी भित्रको ओछ्यानमा झरेर सबै कपडा भिज्ने गरेको बताइन्छ । एकाध घण्टा झकाएर रातभर डिउटी गर्नुपर्ने प्रहरीलाई निदाउन त परै जावस् झकाउने ठाउँ समेत अपुग भएको हो ।

सोही कारण गत वर्षायाममा चौकीका डिएसपी एक सातासम्म नजिकैको होटलमा सुत्न गएको त्यहिँका प्रहरीले बताए । ‘चौकी भवन गतिलो नभएकाले असारमा म आफैँ सुत्ने ठाउँको अभावमा होटल गएको हो,’ डीएसपी शाहीले त्यतिबेलाको अनुभव सुनाए ।

राजमार्गसँगै जोडिएको र प्रायः दुर्घटना भइरहने भएकाले इन्स्पेक्टरको दरबन्दी भएपनि चौकीमा डिएसपीलाई काजमा खटाइएको छ । उनै डिएसपीले आफू आउँदाको समयमा र अहिले कुनै फरक नभएको बताए । पछिल्लो १३ महिनाको अनुभव सुनाउँदै डिएसपी शाहीले भने, ‘कुल ८० जना प्रहरी कर्मचरी छन् । गत असारमा चौकीमा पानी चुहियो, पुरै भल पसेर बस्न सकिएन । म आफैँ होटलमा गएर भाडा तिरेर बसेँ । अहिले नगरपालिकाको पहलमा सानो कटेज बनाइएको छ । तर, त्यो पनि काम चलाउ मात्रै हो ।’

चुनावताका प्रदेश सरकारले भवन निर्माणको निम्ति ६० लाख रुपैयाँ छुट्याए पनि अन्तमा रकम फ्रिज भएकोमा उनले दुःखेसो पोखे । ‘मेरो पनि सरुवा हुन्छ होला । तर, यहाँ बस्ने साथीहरुलाई गाह्रो छ । सम्बन्धित निकायले समस्या बुझिदिए सजिलो हुन्थ्यो,’ डिएसपीले भने ।

प्रहरीको बिजोग देखेर स्थानीयले पनि आफ्ना कुरा राखेका छन् । भवन अभावमा शान्ति सुरक्षामा खटिएका प्रहरीको मनस्थिति नै कमजोर भएको

सुखड १ निवासी रुपा ओझाको भनाइ छ । ‘पटक–पटक गृहमन्त्री बन्छन्, सलाम ठोक्न लगाउँछन् । अघिपछि हिँडाउँछन्, तर बिचरा ! यहाँका प्रहरीको दैनिक निकै गाह्रो छ,’ रुपाले भनिन् ।

पुसको चिसोमा टिनको छानोबाट शीत चुहिने भएकाले प्रहरीले बर्खामा भन्दा पनि अहिले दुःख खेपेको स्थानीय धेरैको बुझाइ छ । सोही वडाकी कल्पना गौतमको आक्रोश छ, ‘महलमा बस्नेलाई के थाहा ? यहाँका प्रहरी बिचरा दिनरात सेवामा खट्छन् । कम्तीमा एकाध घण्टा निदाउने ठाउँ त राम्रो बनाइदिनु नि १’

यस विषयमा नगरप्रमुख खड्गबहादुर रावत आफूहरुको पहलमा प्रदेश सरकारबाट ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको दाबी गर्छन् । तर प्रदेशको ढिलालाई उक्त रकम फ्रिज भएकाले तत्काललाई २५ लाखको खर्चमा एउटा ट्रस बनाइएको उनको भनाइ छ ।

प्रहरी चौकी रहेको वडाका अध्यक्ष घनश्याम ओझाले आफूले नगरपालिका त्यसबारे कुरा उठाउने बाहेक केही गर्न नसक्ने भन्दै पन्छिए । आफूले नगरमा पहल गरिरहेको उनको दाबी छ । बिगतको भन्दा फरक ढंगले काम गर्ने उद्देश्यका साथ मन्त्रालय हाँकिरहेका गृहमन्त्री रवि लामिछानेले प्रहरीका यस्ता सामूहिक पीडा बुझ्ने र समाधानमा कस्तो पहल गर्लान्, त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू