चीनबाट १० लाख पर्यटक ल्याउने नै हो

सन् १९९२ बाट नेपाल एयरवेजको मार्केटिङ प्रमुखका रुपमा एयरलायन्स क्षेत्रमा पाइला राखेका विजय श्रेष्ठ १९९६ देखि महाप्रबन्धकको भूमिकामा यति एयरलायन्समा प्रवेश गरेर २२ वर्षको अनुभव संगालेर चिनियाँ ६५ प्रतिशत लगानीमा सञ्चालित हिमालय एयरलाइन्सको फाउण्डर,उपाध्यक्ष र प्रशासकको भूमिका निर्वाह गरिरहेका छन् आठ वर्षदेखि ।

० हिमालयन एयरलाइन्सको ८ वर्षे यात्रा कस्तो चल्दैछ ?

– हिमालय एयरलाइन्स दर्ता भएको २०१४ मा व्यवसाय शुरु गरेको २०१६ बाट । युक्रेन युद्धको असरस्वरुप संसारभर इन्धनको मूल्य बढेको छ । २०१८ को परिस्थिति अलि असहज थियो । ०१९ सालमा राम्रै भयो । बीचमा कोभिड आयो । हाम्रो काबुभन्दा बाहिरको परिस्थितिबाहेक कम्पनीको इन्टरनल व्यवस्थापन, बिजनेशप्रतिको कमिटमेन्ट, व्यापारको तरिका, सेफ्टी स्टयाण्डर्ड अफ एभिएसनमा कहीँ कतै चुकेका छैनौं । 

० व्यावासयिक उडान थालेको ६ वर्षमा झण्डै १२ अर्ब हाराहारी घाटा खानुको कारण राम्रो रुट नपाएर पनि हो कि ?

– जहाज मगाएर, एयरलाइन्स चलाउने सम्पूर्ण पूर्वाधार तयारी गरिसकेका थियौं । तर, उडान शुरु झण्डै डेढ वर्षपछि मात्र भयो । आम्दानी शून्य, खर्च मात्रै । फ्युलको चर्काे मूल्य, कोभिडका कारण लागत बढ्यो, आम्दानी घट्यो । सेल्फ ग्राउण्ड ह्याण्डलिङका कारण पनि लागत बढ्न गयो । सरकारले दिएको, दिनुपर्ने सुविधा प्रयोग गर्न पाएनौं । सरकारको राजश्व तिर्नसमेत गाह्रो भयो । ऋृण लिएर राजश्व तिर्छौं भन्दा पनि सुख पाइएन । 

० योगेश भट्टराई पर्यटनमन्त्री, राजन पोखरेल र राजकुमार क्षेत्रीहरू महाप्रबन्धक हुँदा ग्राउण्ड ह्याण्डलिङको पत्र पाएर पनि प्रयोग गर्न नपाउँदा कति नोक्सान व्यहोर्नुपर्‍यो ?

– कुरै नगरौं । आफ्नो कस्टमरको सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न नपाउँदा चेकिङ सर्भिस सेवामुखी र प्रभावकारी हुन सकेन । व्यागेज तोडफोड र हराएका गुनासा अत्यधिक रुपमा आइरहन्छन् ।

० हिमालयले एक डेढ महिना मात्रै भैरहवा उडान गरेर फेरि किन बन्द ? 

– भैरहवा र पोखरा विमानस्थल नेपाल सरकारको राष्ट्रिय गौरवका आयोजना । यी आयोजनामा हामी सहयात्री बन्ने योजना हो तर कसका लागि उडान भर्ने ? एयरपोर्ट, एयरलायन्स वा यात्रीका लागि ? हुनुपर्ने यात्रीका लागि हो तर त्यहाँ यात्रीहरूको मागै छैन । कारण डेढ महिनामै बन्द गर्नुपर्‍यो । यसै म्यानमार र श्रीलंकाको उडान पनि हुन सकेन । 

० हिमालयले अहिले ४ बटा एयरबस ३२० चलाइरहेको छ । वाइडबडी थप्ने योजना पनि छ कि ?

– हामी ३३०, ३४० खालको जहाज चलाउँदैनौं । अहिले मार्केटमा फोकस छौं । अहिले चीन, मिडल इष्ट र भोलि एसियाका अन्य देशमा उडान भर्नका लागि एकदमै सुहाँउदो जहाज भनेकै एयरबस ३२० मात्र हो । 

० चिनियाँ संयुक्त लगानीमा सञ्चालित वायुसेवासँग चीनबाट पर्यटक नेपाल ल्याउने के–कस्ता योजना छन् ? 

– हाम्रो महत्वाकांक्षा नै हो– चीनको दश ठाउँमा उडान गर्ने, त्यसका लागि रुट परमिट लिइसकेका छौं । यसरी वार्षिक दश लाख पर्यटक भित्र्याउने लक्ष्य हो । पर्यटन भनेको वैदेशिक अवस्थामा भर पर्ने कुरा हो । लामो समय चीनबाट पर्यटक बाहिर आउने निषेधको अवस्था पूर्ण रुपमा हटेको र नेपाल सरकारले काम गर्ने वातावरण बनाइदिएको खण्डमा अबको चार पाँच वर्षमा त्यो लक्ष्य हासिल गर्नेछौं । 

० तपाईंहरुकोमा कति विदेशीले रोजगारी पाएका छन् ? 

– लगभग चार सयलाई रोजगारी दिएका छौं । क्याप्टेन दुई तिहाइ विदेशी र एक तिहाइ नेपाली छन्, सम्पूर्ण फ्लाइ क्रुको हिसाब गर्दा स्वदेशी ६० र विदेशी ४० प्रतिशत जति हुन आउँछ । समग्रमा हामीकहाँ नेपाली रोजगारको आठ प्रतिशत जति विदेशी छन् । 

० चीनमा नेपाल एयरलाइन्सलाई सँगसँगै लैजान सकिन्छ कि सकिँदैन ? 

– यसमो हामीले बोल्न मिल्दैन । जाने नेपाल एयरलाइन्स, लाने सिभिल एभिएसन अफ चाइना, उहाँहरूको सेफ्टी स्टयाण्डर्ड मिट गर्नुपर्ने हुन्छ । सिफट्, सेक्युरिटी, क्वालिटी, मेन्टिनेन्सको अडिट हेरिन्छ । सम्पूर्ण कुराको अडिट गरिसकेपछि एयरपोर्टमा कसरी अपरेट गर्छाैं त्यसको अडिट हुन्छ । यी सम्पूर्ण अन्तर्राष्ट्रियस्तरको अडिट गरिसकेपछि बल्ल चीनले उडानका लागि अनुमति दिने हो । त्यस्तै खालको अडिट अन्य एयरलायन्सलाई पनि गर्छ । हिमालय एयरलाइन्सले अहिलेसम्म कसैको अडिटमा फेल खाएको छैन । बरु अडिट गर्नेहरूले उल्टै हाम्रो तारिफ गरेर गएका छन् । 

० हिमालय एयरलायन्सलाई सरकारी पक्ष (पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण) ले अलि बढी नै माया गर्छन् भन्ने गरिन्छ, हो ?

– नेपाल नागरिक उड्डन प्राधिकरणसँग डे टु डे कामको सिलसिलामा सपोर्ट नै छ । सेफ्टी कम्लायन्स पूरा गर्दछौं भन्नेतर्फमा पनि उहाँहरूको फूल सपोर्ट छ । हामीले पूर्ण रूपमा सरकारी ऐन, नियम, कानुन, नियमावली पालना गरेका कारण उहाँहरूले सपोर्ट नै गर्नुभएको छ । 

टिप्पणीहरू