सन्दिप लामिछाने शर्तसहित थुनामुक्त, धरौटी तिरेर भोलि छुट्ने
उमेर नपुगेकी किशोरी बलात्कार आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भोलि रिहा हुने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेपछि उनी रिहा हुन् लागेका हुन् ।
उच्चका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले आजको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्लाको आदेश खारेज गरिदिएको हो । धरौटीमा रिहाइ गर्न आदेश दिए पनि लामिछानेलाई विदेश जान भने रोक लगाएको छ ।
यो आदेशसँगै थुनामा बसेर मुद्दा पुर्पक्ष गरिरहेका उनी भोलि धरौटी रकम जम्मा गरेर छुट्ने उनको पक्षमा मुद्दा लडेका एक वकिलले बताए ।
यसअघि लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन गरेका थिए । बेरितको आदेश बदर माग गर्दै उनको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक–पटक स्थगित भएको थियो ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । क्रिकेट खेल्न विदेशमा रहेका बेला बलात्कारको आरोप लागेपछि असोज २० गते नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
टिप्पणीहरू