फेरि दुई वर्ष नभई जुर्दैन यो भेटघाट, जम्दैन यस्तो तातो, स्वादिलो, रंगीन माहोल

फेरि दुई वर्ष नभई जुर्दैन यो भेटघाट, जम्दैन यस्तो तातो, स्वादिलो, रंगीन माहोल

चिसो मौसम छ । बेलुकी पख । खेल मैदानको खुला चौरमा । रंगीबिरंगी प्रकाश छरिएको छ । धिपधिप उज्यालो छाइरहेछ । जता हेर्‍यो, त्यतै चुल्हो–चुल्होमा आगो दन्किरहेछ । गरमागरम पकवानहरु मगमगाइरहेका छन् । नारायणगढस्थित क्याम्पाचौरको ठूलो चौघेराभित्र खुला आकाशमुनि विभिन्न स्थानबाट साथीभाइ, प्रियजन तथा परिवार र आफन्तसहित आएका मानिसहरु झुन्ड–झुन्ड भएर किसिम–किसिमका तात्तातो स्वादिष्ट परिकारहरु खानमा रमाइरहेका छन् । साथमा सांगीतिक प्रस्तुतिहरुको रौनक पनि छ । 

चितवनको गौरव र गरिमामय प्रस्तुति ‘चितवन महोत्सव–२०७९’ अन्तर्गत आयोजित फुड फेस्टिभलको सानो दृष्यवर्णन हो यो । स्वाद चाख्न र मजा लुट्न त माहोलमै सहभागी हुनुपर्छ । केही दिनको सीमित अवधिका लागि हिजो साँझबाट सञ्चालित खाना महोत्सव माघ २ गतेसम्म चल्नेछ । त्यसो त पौष २५ बाट सुरु चितवन महोत्सवको १४ औं संस्करण पनि माघ ४ सम्म मात्रै हो । 

चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक दुई–दुई वर्षमा चितवन महोत्सव हुँदै आएको छ । विभिन्न जातजाति र ठाउँ विशेषका स्थानीय, परम्परागत खानाका परिकारहरुसँगै हस्पिटालिटी र पर्यटन प्रवद्र्धनका लागि चितवन महोत्सवमा फुड फेस्टिभल आयोजना गर्दै आएको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बताउँछन् ।

नेवाः पुचः नारायणगढको सहआयोजना एवम् गोर्खा ब्रुअरी प्रा.लि.को प्रायोजनमा अहिले भइरहेको खाना महोत्सवमा नेवारी, थकाली, गुरुङ, थारु आदि विभिन्न जातजाति विशेष खानाका परिकारहरु राखिएको छ । साँझ ६ बजेदेखि राति ८–९ बजेसम्म चल्ने यो फुड फेस्टिभलमा करिब ५० वटा स्टल रहेका छन् । मुस्लिमहरुका लागि हलाल गरेको मासु ख्वाउने होटल पनि छ । साथमा नेपाली, चाइनिज, इन्डियन, कन्टिनेन्टल खानाहरु पनि छँदैछन् । माछा–मासुका अनेक परिकार त भए नै । मासु नखानेलाई शाकाहारी खानाको स्वाद पनि छ । लोप हुन लागेका परम्परागत, स्थानीय खानाहरुको संरक्षण र प्रवर्धनका लागि सहुलियत दरमा स्टल उपलब्ध गराइएको उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसी बताउँछन् ।

टिप्पणीहरू