'भोलि पोखरामा रमाइलो गर्नुपर्छ' भनेर जहाज चढेकी लोकगायिका पनि दुर्घटनामा

'भोलि पोखरामा रमाइलो गर्नुपर्छ' भनेर जहाज चढेकी लोकगायिका पनि दुर्घटनामा

लोकदोहोरी गायिका निरा छन्त्याल पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा रहेको आशंका गरिएको छ । यसबारे औपचारिक जानकारी नभए पनि यात्रुको सूचीमा 'निरा छन्त्याल' नाम रहनु र उनले फेसवुकमा पोखरा जान लागेको जानकारी गराउनुले दुर्घटनामा परेको अनुमान गरिएको हो । 

हिजो उनले फेसवुकमा 'भोलि पोखरामा रमाइलो गर्नुपर्छ' लेखेकी थिइन् । 'छन्त्याल भवन काठमाडौंको माघि सकियो, अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ❤️', तस्वीरसहित उनको फेसवुकमा स्टाटस छ । 

लोकदोहोरी क्षेत्रमा चर्चित छन्त्याल माघिको अवसरमा आयोजित कार्यक्रमका लागि पोखरा गएको उनको स्टाटसले प्रष्ट्याउँछ । सोही जहाजमा पोखराका पत्रकार त्रिभुवन पौडेलसमेत परेको आशंका छ । आधिकारिक पुष्टि नभए पनि उनीनिकट पत्रकारहरुले  दुर्घटनामा पौडेलको निधन भएको बताएका छन् । 

काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको एन–एनसी एटीआर ७२ विमान आज बिहान पोखरा विमास्थल नजिकै सेती खोंचमा दुर्घटना भएको हो । ६८ जना यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना लिएर उडेको जहाज दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । हालसम्म ३६ जनाको शव फेला परेको र अहिले उद्धारको काम भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू