भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा मैदाजन्य वस्तुको अभाव हुन थालेको छ । गहुँ नपाउँदा मैदा र आँटाको चरम अभावको अवस्था आएको भन्दै मैदा उद्योग संघले सरकारसँग हारगुहार गरेको छ ।
संघले भारत सरकारसँग आवश्यक समन्वय गरेर गहुँ आयात प्रक्रिया तुरुन्त अघि बढाउन सरकारसँग मागसमेत गरेको छ । गहुँको अभावमा मैदाजन्य वस्तुहरु बिस्कुट, चाउचाउ, बेकरी उत्पादन गर्ने उद्योग तत्था तन्दुरी÷नान भोजनालय, रेस्टुरेन्टलगायत सबै होटललाई उनीहरुले मागेअनुसार कच्चा वस्तु उपलब्ध गराउन नसकेको उल्लेख गर्दै संघले सरकारलाई गम्भीर भइदिन आग्रह गरेको हो ।
भारतले प्रतिबन्ध लगाएपछि मैदा उद्योगले बजारबाट महंगोमा गहुँ खरिद गरिरहेको बताएको छ । यसबाट मैदा÷आँटाको मूल्य बढेकाले उपभोक्तालगायत सबै क्षेत्रलाई मार परेकोप्रति पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘पछिल्लो समय बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योग पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्था छ’, संघले आज निकालेको विज्ञप्तिमा भनिएको छ, ’मैदा उद्योगले बजारमा मैदा÷आँटा दिन सक्ने अवस्था नै छैन । यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ ।’
भारत सरकारले दिएको ५० हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन पनि संघले सरकारसँग अनुरोध गरेको छ । साथै, तीन महिनाको निम्ति ३८ वटा उद्योगलाई झण्डै २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने पनि जनाइएको छ ।
भारतले गत बैशाख ३० गतेदेखि गहुँ निर्यातमा लगाएको प्रतिबन्ध अहिले पनि कायम छ ।