नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेर अस्पतालमा प्राण त्यागेका इलामका प्रेमप्रसाद आचार्यले मृत्युअघि उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।
आचार्यले अस्ति पेट्रोल छर्केर शरीरमा आगो लगाउनुअघि विभिन्न राजनीतिक दलका नेतादेखि आफूलाई काम गराएर पैसा नदिने कलेज, डिपार्टमेण्टल स्टोरदेखि विभिन्न व्यक्तिहरुको नाम उल्लेख गर्दै फेसबुकमा लामो स्टाटस लेखेका थिए । यसबारे यथाशिघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई निर्देशन दिइएको छ ।
हिजो बसेको क्याबिनेट बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।
यता, आचार्यकी श्रीमतीले १२ जनाविरुद्ध जाहेरी दिएको प्रहरीले बताएको छ । उनले आज जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी हुन् । आजै अधिवक्ता स्वागत नेपालले पनि आचार्यले फेसबुकमा नाम उल्लेख गरेका सबै व्यक्तिविरुद्ध जिल्ला प्रहरी परिसरमै जाहेरी दर्ता गराएको बताएका छन् ।