सबै श्रेणीहरू

रास्वपालाई ‘हात्तीको देखाउने दाँत’ भन्दै सभापतिद्वारा राजीनामा

रास्वपालाई ‘हात्तीको देखाउने दाँत’ भन्दै सभापतिद्वारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मेलम्ची नगर समिति सभापति गोकुलप्रसाद ढकालले राजीनामा दिएका छन् । नयाँको नाममा रास्वपाले पनि पुरानै दलहरुको प्रवृत्ति दोहोर्याएको भन्दै उनले सभापति पद त्यागेको घोषणा गरेका छन् । 

आसन्न फागुन २१ गतेको चुनावमा सिन्धुपाल्चोक–२, मा झलककुमार (अजय) श्रेष्ठलाई उम्मेदवार बनाइएपछि रास्वपामा विवाद चर्किएको छ । उम्मेदवार चयनको टिकट दिने क्रममा रास्वपा केन्द्रीय कार्यालयमै विवाद भएको भिडियोसमेत बाहिरिएको थियो । 

रास्वपा विधि,विधान,नियमअनुरुप चल्ने पार्टी भएको ठानेर आफू स्थापनाकालदेखि नै संगठन निर्माण र विस्तारमा लागेको तर उम्मेदवार चयनबाट पुरानै दलहरुजस्तै गलत प्रवृत्ति र पात्रलाई प्राथमिकता दिन थालेको तथ्य पुष्टि भएको ढकालको भनाइ छ । 

उनले पालिका र जिल्ला समितिले नियमसम्मत् गरेका निर्णयलाई केन्द्रीय नेतृत्वले निरन्तर बेवास्ता गरेको गुनासो पनि पोखेका छन् । उनको प्रश्न छ, ‘पुरानै दलहरुको प्रवृत्ति नै दोहोर्याउने हो भने हामीलाई किन अर्को थान पार्टी चाहियो ?’ खराब पात्रलाई बोकेर हिँड्ने गलत निर्णय सच्याउन केन्द्रबाट प्राप्त आश्वासन कार्यान्वयन नहुनुले पनि पार्टी स्वार्थी र अवसरवादीहरुको कब्जामा गएको स्पष्ट भएको ढकालको ठम्याइ छ ।

 
‘जुन मूल्यमान्यता र आदर्शलाई आत्मसात् गरेर म यस अभियानमा जोडिएको थिएँ, वर्तमान परिस्थितिमा ती आदर्शहरु ‘हात्तीको देखाउने दाँत’ मात्र सावित भएका छन् । यस्ता गलत अभ्यास र प्रवृत्तिलाई बोकेर हिँड्न मेरो नैतिकताले अनुमति नदिने भएकोले म आजैका मितिदेखि लागू हुनेगरी नगर सभापति पदबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले पत्रमा उल्लेख गरेका छन् ।