रविलाई नागरिकता दिनुअघि को-को सङ्ग सोधपुछ ?

रविलाई नागरिकता दिनुअघि को-को सङ्ग सोधपुछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेले आजको मितिदेखि गणना हुनेगरी पुरानै नम्बरको नयाँ नागरिकता पाएका छन् । आज बिहान ११ बजे नागरिकता पुनर्प्राप्तिको निवेदन लिएर पुगेका उनलाई आवश्यक प्रक्रिया पूरा गराएर जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिउँसो नागरिकता दिएको हो ।    

अस्ति सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेको थियो । अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिएपछि पनि २०५० सालमा बनाएको नागरिकता गैरकानुनी रुपमा प्रयोग गरेकाले उनको नागरिकता  रद्ध भएको हो । त्यसपछि एकैचोटी महत्वपूर्ण चार वटा पद गुमाएका उनी हिजो शनिबार सार्वजनिक बिदा परेकाले आज कार्यालय समय शुरु भएलगत्तै केही दर्जन समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 

अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर तत्कालै नागरिकता लिनेगरी गएका लामिछानेलाई प्रशासन कार्यालयले भने सबै प्रक्रिया पूरा गराएर मात्रै साढे ३ घण्टापछि  नागरिकताको प्रमाणपत्र दिएको हो । नागरिकता जारी गर्नुअघि कार्यालयले टिप्पणी उठाउनेलगायतका औपचारिक प्रक्रिया मात्र पूरा गरेन थप 'भेरिफिकेसन'का लागि गृहमन्त्रालय र अमेरिकी दूतावाससँग आवश्यक जानकारीसमेत लिएको थियो । 

बताइएअनुसार 'गृहमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहसचिव बिनोद सिंहले सबै हेरेर,बुझेर मात्र निर्णय गर्नू' भनेपछि प्रशासनका कर्मचारीले अमेरिकी दूतावासमा फोन गरेर लामिछानेले दिएको ग्रिनकार्ड परित्यागको निस्सा भेरिफाइ गराएका हुन् । 'विवादित विषय भएकाले सबैतिर सोधपुछ गर्नैपर्थ्यो, त्यसकारण अलि बढी समय लागेको होला', त्यहाँ कार्यरत एक कर्मचारीले सुनाए । 

सबै प्रक्रिया पूरा गरी लामिछानेको हातमा नागरिकताको प्रमाणपत्र पर्न साढे तीन घण्टा लागेको थियो । त्यतिन्जेल त्यहाँ कुरेर बसेका उनी निकै नर्भस देखिएको त्यहाँका कर्मचारीले बताए । अदालतको फैसलाले भएभरका सबै पद गुम्नुका साथै लामिछाने नैतिकरुपले समेत अप्ठेरोमा परेका छन् ।

टिप्पणीहरू