सन्दर्भ रवि लामिछाने : के जाति मुलुकमा,के तन्नेरी !!

सन्दर्भ रवि लामिछाने : के जाति मुलुकमा,के तन्नेरी !!

रवि लामिछानेको पछिल्ला हर्कत र गतिविधिबारे सामाजिक सञ्जालमा सशक्त आवाज उठ्न थालेको छ । उनले आफूलाई सर्वोच्च अदालतको फैसलापछि अनागरिक भनेको सन्दर्भमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले गतिलो धारणा राखेका छन् । 

सोही सन्दर्भमा काठमाडौंवासी शरद शर्मा लेख्छन्,‘सर्वोच्च अदालतबाट रवि लामिछानेको पुरानो नेपाली नागरिकता र पासपोर्ट अवैध घोषणापछि हिजो साँझसम्मको गतिविधि हेर्दा लाग्छ रवि लामिछानेले देशको लागि ठूलो साहसिक काम फत्ते गरेको छ । उनी बिना देश चल्नै नसक्ने र राज्यले सर्वश्रेष्ठ पुरस्कार नै दिनुपर्ने ? 

अदालतको सो घोषणाका कारण राजनैतिक हिसावले रवि लामिछानेले सबै पदहरू गुमाउन पर्यो । चितवन क्षेत्र नम्बर २ को सांसद पद खाली हुने र उपनिर्वाचन गर्नुपर्ने भयो । उनी एकाएक भूतपूर्व सांसद, ३२ दिनमा भूतपूर्व उपप्रधान तथा गृहमन्त्री हुन पुगे । आफ्नै दलको अध्यक्षमा रहनबाट वञ्चित भए ।
रवि लामिछानेले लाचार भई अदालतको निर्णयको स्वागत गरी राजीनामा पनि दिए । एक स्कूले केटोले झैँ ‘अब म अनागरिक’ भन्न भ्याए । रविविरुध्द कसैले जालसाजी गरेको पक्कै होइन । उनी आफैले गरेको हठका कारणले हो । जानाजानी कानुनको उल्लंघन गरेकै हो । अमेरिकाबाट फर्केको, उपप्रधान तथा गृहमन्त्रीजस्तो गरिमामय पदमा आसिन हुनसक्ने, पत्रकारको हैसियतले नानाथरीका उपदेश दिनसक्नेले अमेरिकाको नागरिकता लिँदा आफ्नो नेपाली नागरिकता के हुन्छ भन्ने थाहा नहुनुलाई कसरी लिने ?

यो प्रकरणपछि जनमानसमा विभिन्न बुझाइ देखियो । अदालतले धेरै राम्रो निर्णय गरेको र कानुनभन्दा माथि कोहि हुन नसक्ने नजिर कायम गर्यो भन्ने धेरैको भनाइ छ । केही, खासगरी रविका वकिलहरूले अदालतले अन्याय गर्यो भनेका छन्, जुन स्वाभाविक हो । रविका समर्थकहरुको जमात अदालतको निर्णयको विरोधमा सडकमा समेत उत्रियो वा उत्रिन लगाइयो । धेरै सर्वसाधारणले त केही बुझ्नसमेत सकिराखेका छैनन् । उनीहरु अलमलमा देखिन्छन् । 

नागरिकता पाउने नागरिकको जन्मसिध्द अधिकार हो । अस्ति नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट रविको नयाँ नागरिकता क्षण भरमा बनाउने काम भयो । सायद यति छिटो काम नेपाल सरकारको तर्फबाट भएको यही नै हुनुपर्छ । जबकि सर्वसाधारणलाई त्यो समयमा त्यो काम सम्पन्न हुनु सपनाको कुरा हो । 

चटके झैँ जुन तामझामका साथ रविको जिल्ला प्रशासन कार्यालयमा प्रवेश भयो त्यो पनि हेर्न लायक थियो । प्रहरीको घेरामा,समर्थकहरुको भीडबीच हाँसी हाँसी केही गल्ती नै थिएन भन्ने भावले त्यहाँ छिरे । राष्ट्रिय स्वतन्त्र पार्टीको आपतकालीन बैठकले लामिछानेलाई २४ घन्टा नबित्दै पुनः अध्यक्ष पदमा आसिन गरायो ।

 
उता एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँ बालुवाटारमा उपस्थित भएर प्रधानमन्त्रीलाई उपचुनाव अगावै रविलाई पुनः गृहमन्त्रीमा संलग्न गराउन दबाब दिएको समाचार बाहिर आएको छ । सत्य के हो त्यो भने हेर्न बाँकी छ । यसरी किन हतार गरियो ? अदालतको पूर्ण पाठसमेत कुर्न किन नभ्याएको ? 

दुइटा नागरिकता राखेको,झूठो विवरण बुझाएको फौजदारी मुद्दामा प्रहरीबाट अनुसन्धान जारी नै छ अथवा हुनेछ । के सरकारले यो अनुसन्धानलाई निष्क्रिय बनाउन खोजेको हो ? जानकारहरुको भनाइमा त्यो मुद्दा रविविरुद्ध जाने पक्का छ र सजाय पनि भोग्नु पर्ने हुन्छ । सर्वसाधारण जनताले के बुझ्ने ? यही हो सुशासन ? कस्तो बिडम्बना, के जाति देशमा के तन्नेरी भनेझैं !!

(उनको फेसबुक स्टाटसमा सामान्य ढंगले भाषा सम्पादन गरिएको छ ।’
 

टिप्पणीहरू