प्रहरी र पत्रकारबीचको परिचय

प्रहरी र पत्रकारबीचको परिचय

राष्ट्रसेवक प्रहरी र पत्रकारबीच अन्योन्याश्रित सम्बन्ध छ । समाजमा शान्ति–सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा पुलिस र पत्रकार एकअर्काका परिपूरक हुन् । फरक यत्ति हो सेना–प्रहरीको हतियार बन्दुक हो, पत्रकारको कलम । जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ आएका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले यहाँका पत्रकारहरुसित सामूहिक भेटघाट गरेका छन् । प्रहरी कार्यालय चितवनमा आज जिल्लाका क्रियाशील पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरिएको हो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता समेत रहेका नायब उपरीक्षक विजयराज पण्डित र प्रहरी अनुसन्धानका उत्कृष्ट निरीक्षक सुवास भट्ट पनि पत्रकारहरुसामु प्रस्तुत भएका थिए । प्रहरी निरीक्षक देवराज शर्माद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले प्रेस र प्रहरी अभिन्न अंग भएको बताउँदै भने, ‘तपाईं हामी एकअर्काको पर्याय हौं । नङ र मासु जस्तो सम्बन्ध हुन्छ ।’ प्रहरी कार्यमा पत्रकारहरुबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उनले भने, ‘हाम्रो कामलाई जनतासमक्ष पुर्‍याइदिनुहोस् । हाम्रा गल्ती कमजोरीहरु पनि औंल्याइदिनुहोस् ।’

 पूर्वी–पश्चिम चितवनतिर जुवातास, लागुऔषध, काठ तथा वन्यजन्तु सम्बन्धी अपराध अनि मध्यचितवनमा सवारी दुर्घटनाको जोखिम ज्यादा देखिएको प्रहरी उपरीक्षकको भनाइ छ । चितवन जिल्ला देशकै हब भएको र पूर्व–पश्चिमबाट यताउति आउजाउ गर्ने यही बाटो हुनाले यहाँ नसोचेका घटनाहरु पनि हुनसक्ने चुनौती रहेको एसपी बताउँछन् । ‘प्रविधिका कारण हिजोभन्दा आजका घटना पनि फरक छन्’, उनले थपे, ‘प्रविधिमैत्री पोलिसी बनाएर हामी अगाडि बढ्नेछौं ।’ प्रहरी सक्रियतामा पत्रकारले पनि उत्तिकै साथ दिन उनको आग्रह थियो । 

बताइएअनुसार नेपालमै पहिलोपटक मापसे चेकिङको सुरुवात् बुटवलबाट कार्कीले नै गरेका हुन् । मापसे चेकिङ सुरु गरेपछि सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधा भन्दा बढी घटेको तथ्यांक पनि उनले सुनाए । नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलबाट सरुवा भई आएका प्र.उ. कार्की जिल्ला प्रहरी कार्यालय चितवनमा गत बिहीबारदेखि हाजिर भएका हुन् । 

टिप्पणीहरू