सबै श्रेणीहरू

स्वदेश फर्केको एक सातामा मुस्लिम आयोगका अध्यक्ष दुबई पुगे

स्वदेश फर्केको एक सातामा मुस्लिम आयोगका अध्यक्ष दुबई पुगे

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी हिजो फेरि दुबई पुगेका छन् । उनी हिजो दिउँसो फ्लाई दुबईको उडानमा काठमाडौंबाट त्यहाँ गएका हुन् । अन्सारी उक्त विमान सेवाको उडान नम्बर एफजेट ५४० मा दिउँसो साढे ३ बजे काठमाडौंबाट प्रस्थान गरेको बताइएको छ ।

दुई साताअघि उनी दुबई पुगेको पाँच दिनपछि स्वदेश फर्केका थिए । माघ २४ गते उता गएर उनी २८ गते काठमाडौं आएका हुन् । त्यसभन्दा पहिले मंसिर २७ गते दुबई गएर १२ दिनपछि काठमाडौं फर्केका उनी नियमित रुपमा त्यता आउजाउ गरिरहेका छन् ।

सरकारी आयोगका अध्यक्ष अन्सारीको विदेश भ्रमण प्रायः निजी हुने गरेको छ । हिजोको भ्रमण पनि उनको निजी भएको आयोग स्रोतले बताएको छ । गत भदौ १६ गते अन्सारीले दुुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट सुनसरीका करोडौं ठगीको आरोप लागेका रिजवान आलमलाई गाडीमा राखेर एकाएक भगाएका थिए । ठगी आरोपमा फरार आलमलाई प्रहरीले केही घण्टापछि नागपोखरीस्थित होटल मेरियटबाट पक्रेको थियो । 

पछिल्लो पटक समिम माघ ६ गते राति महाराजगञ्ज प्रहरी हिरासतमा रहेका चार जना मादक पदार्थ सेवन गरेका भिआइपीलाई छुटाउन पुगेका थिए । मध्यरातमा मापसे गरेर सवारी साधन चलाएको, सशस्त्र प्रहरीका पूर्व एआइजीको सवारी साधनमा गाडी ठोक्काएको आरोपमा समातिएका उनीहरुलाई छुटाउन अन्सारीले रातभर प्रहरी वृत्त महाराजगञ्जमा धर्ना दिएका थिए ।