नेपालमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।
यसवर्ष ७३ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइएको छ । सो अवसरमा सरकारी तहबाट सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्री, सांसद, पूर्वप्रधानमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
सैनिक मञ्चमा विभिन्न संस्कृति झल्काउने झाँकी र नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश सरकार, दलका नेतालगायतले शुभकामना सन्देश दिएका छन् ।

तर, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको शुभकामना सन्देशमा भने प्रजातन्त्र दिवसको मिति नै गलत लेखिएको छ । सरकारीस्तरबाटै मान्यता प्राप्त र ७३ वर्षदेखि मनाइने गरेको प्रजातन्त्र दिवसलाई मुख्यमन्त्रीले २०४६ साल फागुन ७ गते भनेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘शहीदहरुको बलिदानी र प्रजातन्त्र सेनानीहरुको अथक परिश्रमबाट २०४६ साल फागुन ७ गते प्राप्त प्रजातन्त्र दिवसको अवसरमा मधेश प्रदेशसहित देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
नेपालमा इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनप्रति राजनीतिक पार्टीहरुका दृष्टिकोण फरक–फरक देखिन्छ । त्यहि दृष्टिकोणका आधारमा यस्ता दिवसहरुमा पनि उनीहरुका आ–आफ्नै मान्यता र बुझाई रहने गरेको पाइन्छ । नेपाली काँग्रेस, एमालेलगायतका दलहरुले प्रजातन्त्र दिवसलाई बढी आत्मसात गरेको देखिन्छ भने माओवादी केन्द्र, मधेसवादी दलहरुले गणतन्त्र दिवस र लोकतन्त्र दिवसप्रति बढी झुकाव देखाउने गरेका छन् ।
तथापि यी तीनवटै दिवसले सरकारी तहबाट मान्यता पाएकाले दलीय दृष्टिकोणको खासै अर्थ रहँदैन । तर,मुख्यमन्त्री यादवको शुभकामना सन्देशमा किन २०४६ साल फागुन ७ गते लेखिएको हो प्रष्ट छैन । प्राविधिक त्रुटी हो या उनले त्यस दिनलाई नै प्रजातन्त्र दिवस मानेका होलान् ?