सबै श्रेणीहरू

सन्दीपको निवेदनमा सुनुवाई शुरु

सन्दीपको निवेदनमा सुनुवाई शुरु

बलात्कारसम्बन्धी मुद्दामा विदेश जान रोक लगाउने पाटन उच्च अदालतको आदेशउपर पुनरावेदनका लागि क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाई शुरु भएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाई थालिएको हो । 

उच्च अदालतले विदेश जान प्रतिबन्ध लगाएपछि सन्दीपले हिजो उक्त आदेश सच्याउन माग गर्दै पुनरावेदन गरेका थिए । उमेर नपुगेकी किशोरी बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा गएका सन्दीपलाई उच्चले धरौटीमा छोड्न भनेको थियो । तर, उक्त आदेशमा उनलाई विदेश जान भने प्रतिबन्ध लगाइएको छ । 

उच्चको आदेशपछि थुनामुक्त भएका सन्दीप राष्ट्रिय टिममा फर्किएर क्रिकेट खेलिरहेका छन् । घरेलु मैदानमा हालै भएको आईसीसी लिग-२ का चार खेलमा उनले उत्कृष्ट प्रदर्शनसमेत गरेका थिए । तर, नेपाल बाहिर जान नपाउने अदालतको आदेशका कारण सोमबारदेखि यूएईमा हुने लिग-२ कै अर्को शृंखला खेल्न भने उनले नपाउने भएका छन् । जसका कारण उनी पुनरावेदनका लागि सर्वोच्च गएका हुन् । 

यदी आज ईश्वर श्रीमानको इजलासले प्रतिबन्ध फुकुवा गरे सन्दीप यूएई जान पाउनेछन् । सन्दीप बिनै यूएई जाने टिम घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले यसको तयारी पनि गरेको छ ।