उमेर नपुगेकी किशोरी बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।
आज न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको आदेश सदर गर्दै पुनः कारागारमा नराख्न भनेको हो । साथै सन्दीपलाई विदेश भ्रमणमा रोक नलगाउन पनि सर्वोच्चले आदेश गरेको छ ।
पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान नपाउने शर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले तोकेको शर्त नमाने उक्त आदेश तत्काल रद्द हुने भनिएको थियो ।
तर, क्रिकेट खेल्न विदेश जानुपर्ने भन्दै सन्दीपले उच्चको उक्त आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदनको निवेदन दिएका थिए । साथै, उच्चको फैसलाविरुद्ध सरकारी वकिल पनि रिट लिएर सर्वोच्च पुगेका थिए । दुवै निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाईगरी सर्वोच्चले आज यस्तो फैसला गरेको हो ।
उच्चको आदेशपछि थुनामुक्त भएका सन्दीप राष्ट्रिय टिममा फर्किएर क्रिकेट खेलिरहेका छन् । घरेलु मैदानमा हालै भएको आईसीसी लिग–२ का चार खेलमा उनले उत्कृष्ट प्रदर्शनसमेत गरेका थिए । सर्वोच्चको यो फैसलाले अब उनलाई क्रिकेट खेल्न विदेश जाने बाटो पनि खुलेको छ ।
अन्य प्रक्रियाले नरोके आजदेखि यूएईमा शुरु भएको लिग–२ कै अर्को शृंखलामा खेल्न उनले पाउने छन् ।