तथानाम बोलेपछि तारा बरालसहित पाँच जनामाथि निर्घात कुटपिट

तथानाम बोलेपछि तारा बरालसहित पाँच जनामाथि निर्घात कुटपिट

आफूलाई सामाजिक अभियन्ता दाबी गर्दै आएकी तारा बरालमाथि निर्घात कुटपिट भएको छ । वैदेशिक रोजगार व्यवसायीहरुको लाइसेन्स खोस्न माग गर्दै वैदेशिक रोजगार विभागमा दबाब दिन पुगेकी बरालसहित उनको समूहका पाँच जनामाथि निर्घात कुटपिट भएको छ ।

बुद्धनगरस्थित विभागमा बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने  र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । त्यसक्रममा उग्रता प्रदर्शन गरेपछि मेनपावर व्यवसायीले उनीहरुलाई ठाउँको ठाउँ भकुरेको एक जना प्रत्यक्षदर्शीले बताएका छन् । 

विभाग परिसरभित्रै कुटाकुट हुन थालेपछि प्रहरीले बराल समूहका पाँच जना र एक जना वैदेशिक रोजगार व्यवसायीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त तीनकुनेमा राखिएको प्रहरीले जनाएको छ । 

सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया जनाउँदै आएकी बराल आफूलाई चित्त नबुझेको विषयमा विरोधपत्र बोकेर जहाँ पनि पुग्ने गरेकै कारण विवादसँगै चर्चामा आउने गरेकी छन् । पछिल्लो समय उमेर नपुगेकी किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको पक्षमा उनले चर्का अभिव्यक्ति दिने गरेकी छन् । केही दिनअघि प्रेस काउन्सिलमा पुगेर सन्दीपको विपक्षमा समाचार लेखेको भन्दै उनले केही सञ्चार माध्यमविरुद्ध उजुरसमेत गरेकी थिइन् ।  

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा निलम्बित अवस्थामै सर्वोच्च अदालतमा फर्किन खोज्दा उनको पक्षमा बरालको टोलीले नाराबाजी गरेको थियो । त्यसपछि सर्वोच्चको गेटमै बराल र बिरोधमा रहेका कानुन व्यवसायीहरुबीच कुटाकुट भएको थियो । बरालले एकजना वकिललाई लात्तिले हानेपछि प्रहरीले उनलाई पक्रेको थियो ।

टिप्पणीहरू