बलात्कारमा दुई दिन बहस सुनेर मुद्दा हेर्न नभ्याइने ?
दुई दिनको लगातार बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राख्दा पीडितको मनमा के बित्ला ? आस्था बस्नेतलाई त्यस्तै अनुभव भएको छ । कात्तिक १३ र १४ गतेको बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा आफ्नो बेञ्चले फैसला नसुनाउने भन्दै हिँडेपछि आस्था मर्कामा परेकी छन् । न्यायका लागि झण्डै १६ महिनादेखि लडिरहेकी उनी अदालत धाउँदाधाउँदै थकित भइसकिन् ।
मुद्दा फैसला हुने आशमा रहेकी उनी दुःखेसो पोख्छिन्,‘ममाथि ठूलो अन्याय भएको छ । दुई दिन लगातार बहस भयो । प्रतिवादीको तर्फबाट १० जना वकिलले बहस गर्नुभयो । मेरो तर्फबाट चार सरकारी वकिलसहित प्राइभेट वकिलले पनि बहस गर्नुभयो । प्रतिउत्तर दिन लगाइयो । म फैसला हुन्छ होला भनेर आश गरिरहेकी थिएँ । अन्तिममा न्यायाधीशले अर्को बेञ्चले फैसला गर्ने भन्नुभयो । अब कहिले फैसला हुने भन्ने टुंगो छैन । पीडितलाई कतिसम्म दुःख दिएका हुन् !’
कानुनबमोजिम उनको मुद्दा एक वर्षभित्र फैसला भइसक्नुपर्ने थियो । तर, अदालतले डेढ वर्षदेखि झुलाइरहेको छ । हाल सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । ‘मेरो मुद्दामा एक वर्षभित्र फैसला भइसक्नुपर्ने हो । डेढ वर्ष भइसक्यो । अदालतको चक्कर लगाउँदालगाउँदै थकित भइसकेँ । प्रतिवादीको पहुँच माथिसम्म छ । पीडकसँग पावर र पैसा छ भन्दैमा पीडितले न्याय नै नपाउने ?’,उनले प्रश्न गरिन् ।
घरमा काम सघाउने आस्थामाथि यौन शोषण गर्ने इञ्जिनियर हरिकुमार पोखरेल सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । पुर्पक्षका लागि थुनामा पठाइएका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक पोखरेल गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका फणिन्द्रमणि पोखरेलको भाइ नाता पर्छन् ।
टिप्पणीहरू