चितवनमा ब्राउन सुगर कारोबारी प्रहरी नियन्त्रणमा

चितवनमा ब्राउन सुगर कारोबारी प्रहरी नियन्त्रणमा

लागुऔषधका कारोबारीहरु चितवनमा धमाधम समातिइरहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खैरहनी–२ बाट दुईजनालाई खैरो हिरोईनसहित नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा अस्ति राति १० बजेतिर बागमती प्रदेश ०६–००१ प ५६०५ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा लुकाइछिपाइ ल्याएको १५ ग्राम खैरो हिरोइन प्रहरी टोलीले बरामद गरेको हो । उक्त ब्राउनसुगर ओसारपसारमा संलग्न खैरहनी–३ का ३० वर्षीय बिक्रम गुरुङ र राप्ती–८ बस्ने २४ वर्षीय गगन सिंजाली मगरलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर प्रहरीले लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि मात्रै पनि ठूलो परिमाणमा गाँजासहित ओसारपसारमा संलग्न दुई जनालाई राप्तीबाटै पक्राउ गरिएको थियो । गत फागुन ८ गते राति पिप्लेबाट लोथरतर्फ आउँदै गरेको बा.३ च २५०४ नम्बरको टाटा डिआई गाडीमा ५० किलोभन्दा बढी गाँजा ओसारपसार हुँदै थियो । अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको टोलीले राति १ बजे लोथरस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको ५३ किलो गाँजा फेला पारी गाडीचालक भरतपुर–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र गाडीमा सवार अर्का एकजना नाबालक समेतलाई नियन्त्रणमा लिएर मुद्दा चलाइसकेको छ । 

अवैध लागुऔषधको ओसारपसार, कारोबार तथा दुरुपयोग नियन्त्रणमा चितवन प्रहरी कस्सिएर लागेको छ । कारोबारमा संलग्नहरु भटाभट समातिइरहेका छन् । 

टिप्पणीहरू