नेपालमा सुन भित्र्याउने भारतीयको नयाँ जुक्ति

नेपालमा सुन भित्र्याउने भारतीयको नयाँ जुक्ति

संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौँ आएका एक जना भारतीय नागरिक सुनसहित समातिएका छन् । जजिरा एयरको उडान नम्बर जे ९–५३९ बाट आज अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका फैजान अनवरलाई त्यहाँ खटिएको प्रहरीले ८४० ग्राम सुनसहित पक्राउ गरेको बताइएको छ । 

विमानस्थलको भन्सार चेकजाँच गरेपछि टनेल गेटबाट बाहिर निस्कनेक्रममा उनले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गर्दा पाइन्टमा सुन भेटिएको जनाइएको छ । विमानस्थल प्रहरीका अनुसार पाइन्टमा स्प्रे गरी ल्याइएको उक्त सुन सुरक्षाकर्मीलाई छक्याएर अनवर बाहिर निस्कन सफल भएका हुन् । 

पछिल्लो समय विमानस्थल प्रहरीले अवैध सुन भटाभट समात्न थालेपछि तस्करहरुले पनि नयाँ–नयाँ तरिका अपनाएको देखिन्छ । विगतमा सुनको तार सुटकेशमा डिजाईन गरेर, धुलो माटोमा मिलाएर, सुनको घोल तथा अर्ध तरल बनाएर तस्करी हुने गरेकोमा प्रहरीले सतर्कता बढाएपछि कपडामा स्प्रे गरेर ल्याउन थालिएको हो । 

यसअघि पनि काठमाडौंबाट नेपालगञ्ज जान लागेका अर्का एक भारतीय नागरिकले भित्री वस्त्रमा सुनको स्प्रे गरेको फेला परेको थियो । माघ २४ गते नेपालगञ्ज उड्न लागेका जयकुमार जगदिश भाटिया विमानस्थलको आन्तरिक टर्मिनल चेकिङ काउन्टर प्रवेशद्वारको चेकजाँच क्षेत्रमा भित्री वस्त्रमा स्प्रे गरिएको करिब आधा किलो सुनसहित समातिएका थिए ।

टिप्पणीहरू