करोडभन्दा बढीका सुन र हिराका गहना बोकेर आएका भारतीय चितवनमा समातिए

करोडभन्दा बढीका सुन र हिराका गहना बोकेर आएका भारतीय चितवनमा समातिए

चितवनमा प्रहरीले एक करोडभन्दा बढी रुपैयाँका सुन र हीराको गरगहनासहित तीन जना भारतीयलाई नियन्त्रणमा लिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुले भारतबाटै कारमा हालेर ती गहना ल्याएका हुन् । 

कार चालक भारत उत्तर प्रदेशका विनोद प्रसाद, कलकत्ताका गणपतकुमार तोसावर र नरेश बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले गए राति भरतपुरको गोन्द्राङमा डब्ल्यूबी १२ एभी ५५६६ भारतीय नम्बरको कारमा उनीहरुलाई गहनासहित पक्रेको होे । 

आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएअनुसार उनीहरुले कारको ड्राइभर सिटको पछाडिको सिट, गियर बक्सभित्र र एयर फिल्टरमा लुकाएर ल्याएका हुन् । कारबाट सुनका गहना ६३.८९८ तोला र हीराजडित गहना २२.८७८ तोला बरामद गरिएको छ । ती गहनाको मूल्य एक करोड १० लाख रुपैयाँ भएको प्रहरीको भनाइ छ ।

त्यसैगरी चितवनमा प्रहरीले ३३ बोतल लागुऔषध फेला पारेका छ । लागुऔषध ‘फोरेक्स’ सहित तीन जना पक्राउ परेका छन् । भरतपुरका सुरजकुमार शाही, प्रकाश गौतम र शेलेन्द्र श्रेष्ठ लागुऔषध ओसारपसार गरेको अवस्थामा पक्राउ परेका हुन् ।  

उनीहरुले प्रदेश–३– ०१–०२४ नम्बरको कारमा लागुऔषध राखेर लैजाँदै गरेका थिए । प्रहरीले कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिप्पणीहरू