सबै श्रेणीहरू

इन्टर्नशीप रोकेपछि विद्यार्थीहरु रुष्ट, स्तरोन्नतिलाई लत्याइएको आरोप

इन्टर्नशीप रोकेपछि विद्यार्थीहरु रुष्ट, स्तरोन्नतिलाई लत्याइएको आरोप

नेपाल आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका विद्यार्थीहरुले क्याम्पसले इन्टर्नशीप नथाल्दा आफूहरु मर्कामा परेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले इन्टर्नशीप हटाउनुको कारण खोजेका छन् । 

प्रोफेसर तथा निवर्तमान डाक्टर देवबहादुर रोक्का, डा.सुनिल भुसाल, डा.कृष्ण सुकाजुलगायतले आयुर्वेद शिक्षण संस्थामा बेथिति बढेकोतर्फ औंल्याएका छन् । डा.भुसालले भने, ‘आयुर्वेद शिक्षण संस्थामा भएको बेथितिले आज आएर इन्टर्नशीप हटाएको छ । २२ औं ब्याचमै इन्टर्नशीप हटाउनुपर्ने त्यस्तो के आइलाग्यो ?’

विद्यार्थीहरुको मागलाई बेवास्ता गरिएकोमा उनले आक्रोश पोखेका छन् । आफूहरुसंँग पहुँच नभएकाले क्याम्पस प्रशासनले जायज माग सम्बोधन गर्न चासो नदेखाएको उनको ठहर छ ।

यता, प्रोफेसर रोक्काले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नहुने बताएका छन् । आफ्नो कार्यकालमा छ महिना नरदेवी र छ महिना त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा इन्टर्नशीप गराउने व्यवस्था रहेको उल्लेख गर्दै उनले पनि अचानक इन्टर्नशीप रोक्नुको कारण मागेका छन् ।

‘आयुर्वेदका विद्यार्थीहरुको माग जायज छ त्यसैले त्यो सम्बोधन हुनुपर्छ । क्याम्पस डिनसँग यस विषयमा बृहत छलफल गरेर वा त्योभन्दा माथिल्लो निकायसम्म आफ्ना माग पुर्याएर निष्कर्ष निकाल्न जरुरी छ’, उनले भने । 

क्याम्पसले इन्टर्नशीप हटाएको विरोधमा विद्यार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आफ्नो गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्नुपर्ने मागसहित विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

अनिवार्य रहेको प्रशिक्षण कटौतीबाट विद्यार्थीको स्तरोन्नतिमा असर परेको बताइएको छ । नेपाल आयुर्वेद विद्यार्थी समाजले अस्ति विज्ञप्ति जारी गरेर क्याम्पस प्रशासनको पछिल्लो हर्कतले विद्यार्थीहरु हतोत्साहित भएको बताइएको छ । 

‘इन्टर्नशीपलाई पनि कटौती गर्दै आउनु, हिंसात्मक गतिविधिलाई संरक्षण एवम् प्रोत्साहन दिने रबैयाले विद्यार्थी एवम् संस्थाको स्तरोन्नतिलाई प्राथमिकतामा नराखेको कुरा प्रष्ट देखिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि क्याम्पस प्रमुख एवम् प्रशासनको तर्फबाट भइरहेको यस्ता गतिविधिले दक्ष जनशक्ति उत्पादन गर्नुको सट्टा विद्यार्थीहरुलाई थप हतोत्साहित गरिरहेको छ ।’