सबै श्रेणीहरू

सामाजिक सञ्जालमा जथाभावी बोले कडा कारबाही

सामाजिक सञ्जालमा जथाभावी बोले कडा कारबाही

सामाजिक सञ्जालमा भाइरल हुन जथाभावी बोल्ने, लेख्ने र त्यस्ता सामाग्रीहरु प्रकाशन गर्नेक्रम बढेपछि प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएको छ । प्रहरीको साइबर ब्यूरोले आज सूचना जारी गर्दै प्रचलित कानूनले रोक लगाएका सामग्रीहरु प्रकाशन÷प्रदर्शन नगर्न सचेत गराउँदै अन्यथा दण्डित गर्ने चेतावनी दिएको हो । 

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेर अर्थोपार्जन गर्ने उद्देश्यले विभिन्न व्यक्तिलाई अश्लिलजन्य अभिव्यक्ति दिन, बोल्न र प्रदर्शन गर्न प्रोत्साहन गरी त्यसको फोटो, अडियो एवम् भिडियो समेत प्रकाशन वा प्रदर्शन गर्ने गरेको भन्दै ब्यूरोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको छ ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी पशुपतिकुमार रायले प्रचलित कानूनले रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको समुधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन नगर्न आमनागरिकलाई अनुरोध गरेका छन् ।

कोही कसैले त्यस्ता गतिविधिहरु गरे वा गराएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिँदै त्यस्तो कुनै प्रकाशन तथा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएमा ब्यूरोमा जानकारी गराउनसमेत उनको आग्रह छ ।