दोब्बर आम्दानीको लोभ देखाउँदै पौने आठ लाख ठगी

दोब्बर आम्दानीको लोभ देखाउँदै पौने आठ लाख ठगी

अनलाइन लगानीबाटै दोब्बर लगानी गर्न सकिने सपना बाँड्दै हिँडेका २४ वर्षे युवक पक्राउ परेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाउँदै विभिन्न वालेटमा रकम जम्मा गर्न लगाएका राज रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

रोकायाले पिडितलाई सामाजिक सञ्जालमा फलो गर्ने, साथी बनाउने, लगानीको दोब्बर आम्दानी हुने आश्वासन बाँड्ने गर्दै आएको प्रहरीको भनाइ छ । त्यसरी आश्वासन बाँडेपछि उनले ईसेवा, खल्ती जस्ता वालेटमा रकम पठाउन लगाएका हुन् । विभिन्न प्रयोजनमा हुने खर्च भन्दै उनले यसबीचमा सात लाख ७५ हजार दुई सय रुपैयाँ उठाएको देखिन्छ ।

जुम्लाको चन्दननाथ नगरपालिका ६ घर भई हाल काठमाडौं ३२, नरेफाँट बस्ने रोकायालाई प्रहरीले ठगी सम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका रोकायालाई जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।
 

टिप्पणीहरू