अम्मलीको कथा र देशको भविष्य

अम्मलीको कथा र देशको भविष्य

सानै हुँदा गाउँका बूढाको कुरा सुनेको थिएँ । त्यो कुरा गफ मात्रै थिएन । एक अम्मलीको यथार्थ कथा थियो । बालस्मृतिमै रहेको त्यो कथा बेलाबेलामा सुनाउने गरेको पनि छु । आजचाहिँ अलि ठूलो समूहमा सुनाऊँ भनेर यी पंक्ति यहाँ कोरिएको हो । गाउँमा एक जना नामी हली थिए, उनले पालेका गोरु पनि निकै छिटा र इमान्दार थिए । यत्तिसम्म को इमान्दार कि हली अर्थात् धनीले भनेको जे पनि मान्थे । त्यो हलीको आफ्नै बानी थियो । बानी के भन्नु लत थियो । लत मात्रै पनि हैन सुर्तीको कुलत ! 

ठूलोबेसीमा लगेर गोरु नारेपछि हलीले कमिजको गोजीमा हात हाले । गोजीमा सुर्ती भेटिएन । त्यही तल पालुङ गाउँ पुगेर, सुर्ती किनेर आउँछु अनि सरासर जोत्छु भनेर बाटो लागे । त्यो दिन पालुङमा सुर्ती भेटिएन । यहाँ नभए के भो त थानाबजारमा पक्कै भेटिन्छ भनेर हिँडे । त्यो दिन त्यहाँ पनि भेटिएन । अनि त्योभन्दा पल्लो बजार हुँदै हुँदै चित्लाङसम्मै पुग्दा पनि सुर्ती पाइएनन् । यहाँसम्म त आइसकेँ अब थानकोट पुगेर वर्षभरिलाई पुग्ने सुर्ती किन्छु अनि वर्षैभरि मज्जाले खेत जोत्छु । 

खेतधनी हली र गोरुलाई खाजा लिएर मेलोमा पुग्दा एक सियो पनि जोतिएको थिएन । गोरु जुवामा नारिएर बसेकै थिए । भोक र तिर्खाले प्याकप्याक भएको गोरुलाई पराल र खोष्टा अनि पानी खुवाइसक्दा पनि हली आइपुगेनन् । धन्न ती हली पूर्वतिर लागे र थानकोटमा सुर्ती किनेर एक दिनमै फर्किए । दक्षिण लागेको भए ती हली सायद रक्सौल पुग्थे । त्यो दिन फर्कन भ्याउँदैनथिए । ती इमान्दार गोरु कति दिन जुवामा नारिनुपथ्र्यो, पथ्र्यो । मतदाताले पनि अहिले यस्तै–यस्तै ‘हली’लाई चुनेर संसदमा पठाएका छन् । अहिलेको मुख्य हली ‘पुष्पकमल दाहाल प्रचण्ड’ को अम्मल बडो घातक छ । यो तेस्रो पटकको कार्यकाल जनताको खेतबारी राम्रोसँग जोत्छु, जनतालाई समृद्ध बनाउँछु भन्थे । तर, यिनी त सुर्ती किन्न हिँडेको हिँड्यै छन् ।

पुस १० गते मात्रै सुर्ती किन्न बालकोट पुगेका प्रचण्ड दुई महिना हराए अनि धुम्बाराहीतिर लागे । अनि बालुवाटारमा आठ भारी सुर्ती जुटाए ।

त्यसअघि बालकोटमा जुटाएको सात भारी सुर्तीले दुई महिना मात्रै पुर्‍याएका प्रचण्डले ८ भारी सुर्तीले कति दिन पुर्‍याउँछन् । हेर्न बाँकी छ । प्रचण्डको सत्ता अम्मलले कसलाई फाइदा भयो ? त्यसको हिसाब–किताब हुँदै गर्ला । प्रचण्डको यही अम्मली पारा कायमै रहे देशले ठूलो क्षति ब्यहोर्नु पर्नेछ । यी कुरा छाडौं, अहिलेलाई नयाँ समीकरण बनेसँगै राष्ट्रपतिमा कसको पक्षमा कत्ति मत पर्छ, त्यो हेरौं ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ सालमा राष्ट्रपति निर्वाचनको प्रक्रियाबारे उल्लेख छ । यही ऐनलाई आधार बनाएर आउने २५ गते नेपालको तेस्रो राष्ट्रपति निर्वाचन हुँदै छ । त्यसका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङमा फागुन १३ गते उम्मेदवारी दर्ता गराए । पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ दलको साथ छ भने नेम्वाङलाई आफ्नै पार्टीको मात्रै साथ छ ।

अब निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन् । गोप्य मतदान हुने राष्ट्रपति निर्वाचनमा संघीय सांसदले दिएको एक मत बराबर ७९ मतभार हुने छ भने प्रदेशसभा सदस्यले दिएको एक मत बराबर ४८ मत भार हुनेछ । अर्थात् संघीय संसदका १ सांसदले ७९ हजार जनताको प्रतिनिधित्व गर्नेछन् भने प्रदेशसभा सदस्यले ४८ हजार जनताको । ०७८ मा जनगणना सम्पन्न भए पनि प्रारम्भिक प्रतिवेदन मात्रै आएकाले ०६८ को जनगणनालाई आधार बनाएर यो मतभार तयार परिएको हो । यो निर्वाचनमा संघीय सांसदको कुल मतभार २६ हजार ३ सय ७ छ भने प्रदेशसभा सदस्यका कुल मतभार २६ हजार ४ सय छ । यसरी यो पटकको राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ । बहुमत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित हुन पौडेल या नेम्वाङले कम्तीमा २६ हजार ३ सय ५४ मत ल्याउनुपर्ने छ । 

संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सबैभन्दा बढी मतदाता र मतभार छ । कांग्रेसँग संघीय संसद्मा ९८ र सात प्रदेश सभामा १७६ सांसदसहित १६ हजार २ सय ६९ मत छ । यस्तै संसदको दोस्रो ठूलो दल एमालेसँग संघीय संसद्का ७९ र प्रदेशसभाका १ सय ६१ सांसदसहित १५ हजार ३ सय १२ मत छ । सत्ताको बागडोर सम्हालिरहेको नेकपा माओवादी केन्द्रका संघीय संसदमा ४७ जना र प्रदेशसभामा ८४ जना सांसद छन् । माओवादी केन्द्रको मतभार ७ हजार ८ सय ७२ छ । यस्तै, चौथौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १९ जना सांसद छ । उसले प्रदेशसभामा उम्मेदवारी नै दिएको थिएन । रास्वपासँग १ हजार ५ सय १ मतभार छ । यस्तै राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५, नेकपा एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ । 

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी नाउपा र राष्ट्रिय जनर्मोचासहितको आठ दलीय गठबन्धनसँग ३२ हजार १ सय ८८ मतभार छ । अहिले सरसर्ती हेर्दा यो पौडेलले पाउने मत हो । नेम्वाङको पक्षमा भने हालसम्म १५ हजार ३ सय १२ मत मात्रै देखिन्छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेपाल मजदुर किसान पार्टी नेमकिपा, नेपाल संघीय समाजवादी, हाम्रो नेपाली पार्टी र संघीय संसदका ४ जना र प्रदेशसभाका ७ जना स्वतन्त्र सांसद कतै खुलेका छैनन् । उनीहरूको मतभार ४ हजार ९ सय ७० हुन्छ । यही अनिर्णीत मत आफ्नो पक्षमा पर्ने दाउमा एमाले छ । यस्तै ८ दलीय गठबन्धनबाट पनि मत तान्न एमालेले कसरत गरिरहेको छ । अंक गणितमा कांग्रेसका पौडेल बलिया दावेदार हुन । फागुन २५ भित्र ८ दलीय गठबन्धनमा फेरबदल नभएमा वा प्रधानमन्त्री प्रचण्डले साथ नछोडेमा पौडेललाई सहज देखिन्छ । अहिलेकै अवस्थामा एमालेका नेम्वाङलाई भने जित सहज छैन ।

तर, एमालेको सचिवालय बैठकको निर्णय सार्वजनिक कार्यक्रममा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भनेका छन्– फागुन २५ आउन बाँकी नै छ । यो बीचमा धेरै कुरा हुन सक्छन् । एमालेसँग भएको भनिएको सहमतिमा ३२ दिन पनि नटिकेका प्रचण्ड अहिले भएको नयाँ सहमतिमा दुई हप्ता पनि नटिक्ने सम्भावनातिर गुरुङले संकेत गरेका हुन् कि ? वा अन्य कुनै खेलोमेलो हुँदै छ । त्यो पनि खुल्दै जाला । 

टिप्पणीहरू