नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज दर्ता भएको रिट खारेजीको माग गर्दै आन्दोलन गर्ने भएको छ ।
क्रान्तिकारी केन्द्रीय समितिले साँझ ५ बजे माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्न लागेको हो । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले उक्त विरोध प्रदर्शनमा सहभागी हुन आफ्ना कार्यकर्तालाई आग्रह गरेकी छन् । त्यस्तै, प्रदेशमा पनि विरोधका कार्यक्रम आयोजना गर्न उनले निर्देशन दिएकी छन् ।
जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धको नेतृत्वकर्ताको हैसियतले युद्धका क्रममा माओवादी पक्षबाट भएका क्षतिको जिम्मा आफूले लिने बताउनुभएको थियो । त्यसैलाई आधार बनाएर सर्वोच्चमा उहाँविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ ।
माओवादीले भने यस्ता मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा टुंग्याउनुपर्नेमा जोड दिँदै आएको छ ।