प्रचण्डविरुद्धको रिट राष्ट्रपति चुनावअगाडि गरिएको ‘प्रोक्सी’ लडाइँ : मेटमणि चौधरी

प्रचण्डविरुद्धको रिट राष्ट्रपति चुनावअगाडि गरिएको ‘प्रोक्सी’ लडाइँ : मेटमणि चौधरी

पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा अर्थहीन हुने बताएका छन् । 

अहिले रिट निवेदकले उठाएको विषय संयुक्त राष्ट्रसंघको रोहबरमा धेरै अगाडि टुंगोमा पुगिसकेकाले यस्ता मुद्दाको कुनै अर्थ नरहने दाबी गरेका उनले यसलाई राष्ट्रपति चुनावअघि गरिएको ‘प्रोक्सी’ लडाइँ भनेका छन् ।  

‘कमरेड प्रचण्डविरूद्ध सर्वोच्चमा गरेको रिट र हुन सक्ने सम्भावनाको विषय केवल भ्रमित कुरा मात्रै हो’, नेता चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्कालीन समयमा संयुक्त राष्ट्रसंघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षको बीचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेको विषय हो ।’

शान्ति प्रक्रियाका केही विषय टुंग्याउन बाँकी रहेको र अहिलेको सरकारले त्यसमा काम गर्नुपर्ने पनि नेता चौधरीको सुझाव छ । ‘यसैले कसैले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौ र खुसी पनि हुनु जरूरि छैन । यो फगत भ्रम हो । प्रक्रियाले यो टुङिन्छ । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो । इमोसन्ल ब्लेकमेलिङ हो’, उनको भनाइ छ । 

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका दौरान ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने प्रचण्डको पुरानो अभिव्यक्तिलाई आधार मानेर आज सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता भएपछि माओवादी वृत्त तरंगित छ । यो घटनाले राष्ट्रपति निर्वाचन प्रभावित हुनसक्ने आशंकासमेत भइरहेका बेला सत्ता गठबन्धनमा रहेको समाजवादीका नेता चौधरीको यस्तो धारणा बाहिर आएको हो ।

टिप्पणीहरू