अपहरित चार अमेरिकी पर्यटकमध्ये दुई जना मारिए

अपहरित चार अमेरिकी पर्यटकमध्ये दुई जना मारिए

मेक्सिको भ्रमणमा गएका चार जना अमेरिकी पर्यटकमध्ये दुई जना मारिएका छन् । अपहरित उनीहरुमध्ये दुई जनालाई प्रहरीले तत्काल उद्धार गरेको छ । उद्धार गरिएका दुई जनालाई उपचारको निम्ति अमेरिकाको टेक्सास राज्य ल्याइएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार चार जना अमेरिकी युवा सडक मार्ग भएर मेक्सिको गएका थिए । तीमध्ये एक जना मेक्सिकोमा प्राकृतिक उपचारको माध्यमबाट भुँडी घटाउन गएको समाचारमा उल्लेख छ । 

तर, सीमावर्ती माटोमोरोस सहर पार गर्ने बितिक्कै उनीहरुको सवारी साधनमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । त्यसपछि चारै जनालाई नजिकैको एउटा घरमा लगिएको बताइन्छ । बन्दुक प्रहारबाट एक जनाको गोडामा गहिरो चोट लागेको थियो । अर्का घाइते पनि मारिएका दुई जनाको शवसँगै थिए ।  

मेक्सिकोको सीमानामा भएको उक्त आक्रमणले दुई मुलुकबीच उत्पन्न हुँदै आएको सुरक्षाको विषय थप पेचिलो बनेको छ । यता अमेरिकी संसद कँग्रेसमा रिपब्लिकन सांसदहरुले मेक्सिकोको सीमा क्षेत्रमा अपराध रोक्न सैनिक परिचालन गर्नुपर्ने भन्दै विधेयक प्रस्ताव गरेका छन् ।
 

टिप्पणीहरू