बैंकका हाकिमलाई कालोमोसो दल्न मार्सिले खटाएका व्यक्ति पक्राउ

बैंकका हाकिमलाई कालोमोसो दल्न मार्सिले खटाएका व्यक्ति पक्राउ

मेडिकल बिचौलिया भनेर चिनिने दुर्गा प्रसाईं 'मार्सी' को राजसंस्था पुनर्स्थापित गराउने महाभियान अन्तर्गत 'कालोमोसो अभियान दस्ता' का संयोजक शम्भु थापा पक्राउ परेका छन् । 

हिजो भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले आवश्यक सोधपुछका लागि थापालाई पक्राउ गरेको बताएको छ ।

बैंकबाट अर्बौं ऋण लिएर त्यसको सावाँ, ब्याज नतिरेका प्रसाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरुलाई  देखाएर कर्जा नतिर्ने अभियान चलाइरहेका छन् । झापाको मेची पुलमा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यहरुलाई भेला गरेर शुरु गरेको अभियान अहिले देशव्यापी बनाइएको छ ।  फागुन १३ गते उनले चितवनमा पनि सभा गरेका थिए । 

चितवनको सभाबाटै कालोमोसो दस्ताको संयोजक घोषणा गरिएका थापाले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए । 

'धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियान' को नाममा थालिएको उक्त अभियान मूलत: बैंक तथा वित्तीय संस्थाविरुद्ध रहेको छ । बाहिर हेर्दा राजतन्त्र फर्काउने अभियानजस्तो देखिए पनि मार्सिले बैंकको ऋण नतिर्न यस्तो जुक्ति निकालेको भन्नेहरु पनि छन् । 

पूर्वपञ्चहरुको पार्टी राप्रपासहित विभिन्न राजावादी समूहहरुले नै प्रसाईंको गतिविधिप्रति आशंका व्यक्त गरिरहेका छन् । बैंकबाट अरबौँ ऋण लिएर त्यसको साँवा, ब्याज नतिरेका उनले त्यसबाट उन्मुक्ति पाउन पूर्वराजालाई प्रयोग गरेको उनीहरुको आशंका छ ।

टिप्पणीहरू